जनकपुरधाम,मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा नदिएपछि नेकपा एमाले, नेपाली कांग्रेस र जनमत पार्टीले नयाँ सरकार गठनको लागि दाबी पेश गरेका छन ।नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउन बुधवार तीन दलले बहुमत सांसदको हस्ताक्षर सहित दाबी पेश गरेका हुन ।
नेकपा एमालेले आजै सतिशकुमार सिंहलाई दिएको समर्थन फिर्ता लिँदै सरकारमा रहेका आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाएपछि दलहरुले नयाँ सरकार गठनको लागि दाबी पेस गरेका हुन ।ंविधानको धारा १६८ को उपधारा ९२० बमोजिम नयाँ सरकार गठनका लागि दावी पेश गरिएको छ ।एमालेका २३, कांग्रेसका २२ र जनमतका १३ जना प्रदेशसभा सदस्यको समर्थनमा नयाँ सरकार गठनका लागि दावी पेश गरिएको हो ।
१०७ सदस्य प्रदेश सभामा सरकार बनाउन ५४ सदस्य आवश्यक पर्छ ।
जनमतबाट मुख्यमन्त्री बनेका सतिशकुमार सिंहले जिनजी आन्दोलनको क्रममा गत भदौ २४ गते फेसबुकबाट राजीनामा घोषणा गरेका थिए। तर अवस्था सहज भएपछि उनले पछाडि राजीनामा नदिने अडान लिँदै सदन फेस गर्ने बताउनुभएको थियो ।
जनमत संसदीय दलको निर्णयलाई समेत सिंहले बेवास्ता गरेपछि गत भदौ ३१ गते उसले आफ्ना मुख्यमन्त्री मन्त्री सहित फिर्ता बोलाएको र सरकारबाट समर्थन फिर्ता लिएको पत्र सभामुख रामचन्द्र मण्डललाई बुझाएको थियो ।
एक साताअघि मात्रै नेपाली कांग्रेसले समर्थन फिर्ता लिँदै आफ्ना तीन मन्त्रीलाई फिर्ता बोलाएको थियो। एमालेले भने सिंहलाई काँध थापेको थियो ।कांग्रेसले समर्थन फिर्ता लिइसकेपछि एमाले पनि समर्थन फिर्ता लिएर नयाँ सरकारको लागि अघि बढेको हो । एक साताअघि नै एमाले, कांग्रेस र जनमत बीच सरकार बनाउने सहमति भएको थियो ।