वीरगञ्ज,वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली परीक्षार्थीको रूपमा परीक्षा दिइरहेका एक युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा नेपाली कांग्रेस पार्टी पर्सा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापती महमद साहबुद्धिनका छोरा, २५ वर्षीय महमद अफताब रहेका छन् ।

क्याम्पसमा मानविकी संकाय, राजनीति शास्त्र स्नातकोत्तर तह तेस्रो सेमेस्टरको परीक्षा चलिरहेका बेला आफ्ना बुवाको प्रवेशपत्रमा आफ्नो फोटो टाँसेर परीक्षा दिइरहेको अवस्थामा अफताबलाई रंगेहात पक्राउ गरिएको हो ।क्याम्पस प्रमुख मोहन यादवका अनुसार, सिम्बोल नम्बर १५२७०२३ का परीक्षार्थी महमद साहबुद्धिनको साटोमा अफताब परीक्षा दिइरहेको सूचना पाएपछि तत्काल अनुगमन टोली खटाइएको थियो । ‘जाँच गर्दा परीक्षार्थी साहबुद्धिनको स्थानमा उनका छोरा अफताब भएको पुष्टि भएपछि उनलाई परीक्षा हलबाटै नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको हो ।’ प्रमुख यादवले बताउनुभयो ।

क्याम्पस प्रशासनका अनुसार, त्रिभुवन विश्वविद्यालयको संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को दफा २७० (क) बमोजिम अफताब र उनका पिता दुबैविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ ।पक्राउ परेका अफताब र नक्कली परीक्षार्थी पठाएर परीक्षा दिन लगाउने शहाबुद्दीन दुवैमाथि त्रिभुवन विश्वविद्यालयको सङ्गठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को दफा २७० (क) अनुसार कारबाही हुने उहाँले बताउनुभयो ।
शहाबुद्दीन र उनका छोरा अफताब वीरगञ्ज महानगरपालिका– ३ छपकैयाका बासिन्दा हुन् ।

पक्राउ परेका अफताबलाई हाल वडा प्रहरी कार्यालय बिर्तामा राखिएको छ । पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार, “क्याम्पस प्रशासनबाट पक्राउ गरेर बुझाइएको युवकलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।”

Leave a Reply