काठमाण्डौं,नेपाल भ्रमणमा रहनुभएका भारतका विदेश सचिव विक्रम मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसंग आइतवार शिष्टाचार भेट गर्नुभएको छ ।विदेश सचिव विक्रम मिस्रीले राष्ट्रपति पौडेलसँग राष्ट्रपति भवन शीतल निवासमा र प्रधानमन्त्री ओलीसंग मन्त्रीपरिषदको कार्यालय सिंहदरवारमा शिष्टाचार भेट गर्नुभएको हो ।
शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले निकटको छिमेकी भारतले गरेको प्रगतिबाट नेपालले लाभ लिएको र अझ बढी लाभान्वित हुन चाहेको बताउनुभयो । उहाँले नेपाल र भारतबीच शताब्दीऔंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक तथा जनस्तरको निकट सम्बन्ध रहेको चर्चा गर्दै दुई देशबीचको सम्बन्ध सार्वभौमिक समानता, मैत्रीपूर्ण सहयोग, आपसी सम्मान एवम् विश्वासमा आधारित रहेको बताउनुभयो ।
विदेश सचिव मिस्रीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकी देशसँगको सम्बन्धलाई प्राथमिकता दिने नीति अनुसार नेपाल प्राथमिकताको उच्च स्थानमा रहेको बताउनुभयो ।
विदेश सचिवले आफ्नो भ्रमणका अवसरमा आधुनिक युगमा दुवै देशबीचको प्रगति एवम् विकासका लागि ‘कनेक्टिभिटी’ विस्तारका साथै पारस्परिक हित र चासोका विषयमा सम्बद्ध अधिकारीहरूसँग छलफल गर्ने अवसर मिलेको बताउनुभयो ।
यस्तै प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले आइतबार नै शिष्टाचार भेट गर्नुभएको हो ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आइतबार काठमाण्डौ आइपुग्नुभएका सचिव मिश्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गर्नुभएको हो । भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका अधिकारी, नेपालका लागि भारतीय राजदूतलगायत सहभागी हुनुहुन्थ्यो ।यस्तै नेपाल भ्रमणका क्रममा मिस्रीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, विपक्षी दलका नेता पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री डा. आरजु राणासँग पनि शिष्टाचार भेट गर्नुभएको छ ।


















