कृष्ण मोहन साह
सेढवा,पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर १ बलुवा टोलमा आइतवार राति आगलागी हुँदा तीन घर पूर्णरूपमा जलेर नष्ट भएका छन् ।स्थानीय शेशनाथ मुखिया बिनको घरमा लामखुट्टे धपाउन बालिएको घुरबाट सल्किएको आगोले छिमेकी जितेन्द्र मुखिया बिन र सनोज मुखिया बिनका घर जलेर पूर्णरूपमा नष्ट भएका हो ।
प्रहरी चौकी महादेवपट्टिका प्रहरी सहायक निरीक्षक अवधलाल साहका अनुसार आगलागीबाट फुसको घरमा रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुडा, गरगहना तथा शेशनाथ मुखियाको किराना पसलसमेत पूर्ण रूपमा नष्ट भएको छ । यद्यपि मानवीय क्षति नभए पनि आगलागीले ठूलो आर्थिक क्षति पुर्याएको प्रहरीको प्रारम्भिक अनुमान छ ।आगलागीपछि स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीले तत्कालै उद्धार तथा नियन्त्रण कार्यमा खटिएर आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
हाल स्थानीय तह, प्रहरी प्रशासन र सामाजिक अगुवाहरूको समन्वयमा राहत तथा पुनःस्थापनाका प्रयासहरू अघि बढाइएको छ।



















