सिमरा,मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ को रामवन हुँदै राधाकृष्ण मन्दिरबाट जनहित उपभोक्ता समिति सिमरा जोड्ने सडक निर्माण कार्यको अनुगमन गर्नुभएको छ ।
रामबन क्षेत्रबाट सुरु भएको सडक निर्माणको अवस्थाबारे अनुगमन गर्दै सांसद चौधरीले निर्माण कार्य गुणस्तरीय बनाउन निर्देशन दिनुभयो ।
अनुगमनका क्रममा सांसद चौधरीले प्रदेश पूर्वाधार विकास कार्यालयका प्रमुखसँग छलफल गर्दै इन्जिनियरसहितको प्राविधिक टोली खटाएर निर्माण कार्यको तुरुन्तै गुणस्तर सुनिश्चित गर्न पनि आग्रह गर्नुभयो । । उहाँले सडक निर्माणमा ढिलासुस्ती नगर्न चेतावनी दिँदै समयमा काम सम्पन्न गर्न ठेकेदार र सम्बन्धित निकायलाई निर्देशन समेत दिनुभयो ।
सडक निर्माणले रामवन, मुसहर्निमाई, राधाकृष्ण मन्दिर क्षेत्रका बासिन्दालाई सहज पहुँच प्रदान गर्ने र आर्थिक तथा सामाजिक गतिविधिमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
सडक अनुगमन कार्यक्रममा नेकपा एमालेका मधेश प्रदेश सचिव मनोज पौडेल, वडा नम्बर ३ कार्यबाहक वडा अध्यक्ष माया विक, स्थानीय नेता कमल देवकोटा, शुक्र श्रेष्ठ, शंकर लामा, अनिता खत्री, ईश्वरी लामा, कुवेर न्यौपाने, रविन्द्र खकुरेल, कमरुल होदा अन्सारीलगायतको सहभागिता रहेको थियो।














