निजगढ,निजगढ नगरपालिकाले नगर क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयहरुमा थप २ दिन गर्मी बिदा दिएको छ ।
निजगढ नगरपालका नगरकार्य पालिकाका शिक्षा अधिकृत (सातौं) उत्तम लामिछानेले शनीवार एउटा सूचनामार्फत असार १ र २ गतेसम्म गर्मी बिदा दिइएको जनाउनुभएको हो । अत्याधिक गर्मीका कारण विद्यालयहरुमा पठनपाठन कार्य असहज हुन गई बालबालिकाहरुको स्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने देखिएकोले यसअघि दिइएको गर्मी बिदामा २ दिन थप गरिएको सूचनामा उल्लेख छ ।
नगरपालिकाले गर्मीका कारण पठनपाठन कार्यमा असहजता उत्पन्न भएको भन्दै यसअघि जेष्ठ २९ र ३० गतेसम्मको लागि विदा दिइएको थियो । बर्षे बिदाबाट कट्टा हुने गरी दिइएको भनिएको सो बिदा नगरपालिकाका कार्यालयको शुक्रवारको निर्णय अनुसार दिइएको पनि सूचनामा उल्लेख गरिएको छ ।लामो समयदेखि पानी नपरेपछि बढेको गर्मीले निजगढ लगायत तराई क्षेत्रको जनजीवन प्रभावित हुदैआएको छ । तापक्रम बढेपछि निजगढमा सडक र सार्वजनिक स्थलहरुमा पनि सर्वसाधारणको चहलपहल घटेको छ ।
वीरगञ्जमा ६ दिन बिदा घोषणा
वीरगञ्ज,अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाले महानगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा ६ दिन बिदाको घोषणा गरेको छ ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले एक सूचना जारी गर्दै २०८२ असार १ गते आइतवारदेखि असार ६ गते शुक्रवारसम्म पठनपाठन स्थगित हुने जानकारी दिनुभएको छ । यो बिदा वर्षे बिदाबाट मिलान गरिनेछ महाशाखा प्रमुख लामिछानेले जनाउनुभएको छ ।
बढ्दो गर्मीका कारण विद्यार्थीको स्वास्थ्य जोखिममा पर्ने अवस्था देखिएपछि यो महत्वपूर्ण निर्णय लिइएको हो । यद्यपि, बिदाको समयमा पनि विद्यालय प्रशासन भने सूचारु राख्न सम्बन्धित सबै विद्यालयहरूलाई अनुरोध गरिएको छ । यो सूचना सबै विद्यालय, विद्यार्थी र अभिभावकहरूको जानकारीका लागि प्रकाशित गरिएको छ ।















