निजगढ,बाराको निजगढका सृजनराज गौतमले नेपाली राष्ट्रिय फुटबल टोलीमा स्थान पाएका छन् ।युवा फरवार्ड सृजनले घरेलु क्लबबाट प्रदर्शन गर्दै पहिलो पटक सिनियर टिममा स्थान बनाएका हुन्।मुख्य प्रशिक्षक म्याट रोसले सोमवार दुई खेलका लागि घोषणा गरेको अन्तिम टोलीमा युवा खेलाडी सृजन राज गौतम र सुदुरपश्चिमका कुशल देउबालाई नयाँ खेलाडीको रुपमा समावेश गरेका हुन ।

दुवै खेलाडीले यसअघि पनि बन्द प्रशिक्षणमा मौका बनाएपनि राष्ट्रिय टिममा पर्न सकेका थिएनन् । यस पटक भने दुवैले सिनियर टिममा स्थान बनाए ।प्रशिक्षक रोसले दुवै खेलाडीप्रति भावना रहेकोले टिममा समावेश गरेको बताएका छन् ।
पहिलो पटक सिनियर फुटबल टिममा पर्न सफल भएका सृजनराज गौतमलाई यसअघि म्याट रोसले सिंगापुर र मलेसिया विरुद्धको खेलअघि पनि बन्द प्रशिक्षणमा बोलाएका थिए । तर त्यसबेला उनले अन्तिम टोलीमा स्थान बनाउन भने सकेनन् ।
यस पटक भने उनी रोसले घोषणा गरेको ३० सदस्यीय प्रारम्भिक टोलीमा पर्दै अन्तिम टोलीमा पर्न सफल भएका हुन् । पछिल्लो समय संकटा क्लबबाट घरेलु फुटबलमा राम्रो प्रदर्शन गर्दै अएका सृजन नेपाल सुपर लिगको तेस्रो संस्करणमा एफसी चितवन टिममा थिए । तर उनले एक खेलमा मात्र अवसर पाए । सृजनले गत वर्ष भएको शहीद स्मारक सी डिभिजन लिगमा बागमती युथ क्लबबाट खेलेका थिए ।



















