रौतहट,रौतहटको गरुडा नगरपालिकामा करिब ८ करोड ५० लाख रुपैयाँ लागतका ६ वटा विकास योजनामा टेन्डर प्रक्रिया अगावै निर्माण कार्य सुरु भएको खुलासा भएको छ ।टेन्डर सूचना आउँदो जेठ १८ गते प्रकाशित गर्ने तयारी भइरहेका बेला योजनाको काम थालिएको पुष्टि भएपछि गम्भीर अनियमितताको आशङ्का गरिएको छ । नगरप्रमुख कन्थमणीप्रसाद कलवार, प्रमुख प्रशासकीय अधिकृत मोहताक आलम र इन्जिनियर सञ्जय यादवको मिलेमतोमा सार्वजनिक सूचना बिना नै योजनाहरू ठेकेदार सन्तोष केसरीलाई दिएको स्रोतको दाबी छ ।

स्थानीय सामाजिक अगुवा अनिल यादवले प्राप्त सूचनाको आधारमा स्थलगत अनुगमन गर्दा योजनाहरूमा निर्माण कार्य अघि बढिसकेको फेला पारेको दाबी गर्नुभएको हो । ‘जब टेन्डर नै खुलेको छैन, त्यस्तो अवस्थामा योजना कसरी सञ्चालन भयो?’ भन्ने प्रश्नमा अधिकृत आलमले आफूलाई जानकारी नभएको भन्दै पन्छिने प्रयास गर्नुभयो । इन्जिनियर यादवले योजनाहरू उपभोक्ता समितिमार्फत सञ्चालित भएको बताए पनि स्थलगत अवलोकनमा ठेकेदार केसरीकै कामदार र उपकरण प्रयोग भइरहेको देखिएको यादवको दाबी छ । उहाँका अनुसार योजनाहरू सेटिङ्ग गरेर ठेकेदारलाई दिइएको र यसले ठेक्का प्रक्रियामा गम्भीर कमिसन चलखेल भएको छ । यादवले जनताको करको पैसामा खुल्लमखुल्ला दोहन भइरहेको भन्दै तत्काल छानबिनको माग गर्नुभयो ।

अनुगमनका क्रममा कतिपय योजनामा निर्माण सामग्री, मजदुर परिचालन भइसकेको र केही स्थानमा संरचना निर्माणसमेत सम्पन्न भइसकेको भेटिएको छ । योजना सडक विस्तार, नाला निर्माण र भवन निर्माणसँग सम्बन्धित रहेको बुझिएको छ । घटनाले गरुडा नगरपालिकाको प्रशासनिक पारदर्शिता र जबाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ । स्थानीयवासीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने तयारी गरिरहेका छन् भने अनिल यादवले जिल्ला प्रशासन र सम्बन्धित निकायहरूलाई छानबिनका लागि अनुरोध गरिसक्नुभएको छ ।नगरपालिकामा विकास निर्माणको नाममा सेटिङ्ग मिलाएर व्यापक भ्रष्टाचार भएको यस्ता कार्य नरोकिए जनतालाई आन्दोलनमा उतार्न बाध्य हुने उहाँले चेतावनी दिनुभयो ।

Leave a Reply