सिमरा,बाराको पथलैयामा खाद्य स्वच्छता सम्बन्धि एकदिने सचेतना कार्यक्रम सम्पन्न भएको छ ।खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्जको आयोजना तथा होटल तथा पर्यटन ब्यवसायी संघ बाराको सहआयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा स्थानीय होटल व्यवसायी तथा खुल्ला स्थानमा खाद्यबस्तुको ब्यापार गर्नेलाई खाद्य स्वच्छता सम्बन्धमा सचेतना तालिम प्रदान गरिएको थियो ।
कार्यक्रममा खानामा प्रयोग हुने रङ्ग, खाद्यबस्तुको प्याकिङमा प्रयोग हुने कागजको स्वच्छता, खाद्य सुरक्षा लगायतका विषयमा सचेतना प्रदान गरिएको थियो । सहभागिहरुलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले अनुगमन अघि सचेत गराईएको र आगामी दिनमा यस सम्बन्धमा अनुगमन समेत हुने भएकाले खाद्य सुरक्षामा गम्भिर बन्न आग्रह गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं पर्यटन अभियन्ता मोहन शर्मा लामिछानेले पथलैया दिवा तथा रात्रीकालीन दुबै समयको ब्यवसायका लागि उपयुक्त स्थान भएकाले खाद्य सुरक्षामा यहाँका व्यवसायी थप जिम्मेवार बन्नुपर्ने विषयमा सचेत गराउनुभएको थियो ।खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्जका प्रमुख सुरेशकुमार सिंहको अध्यक्षता तथा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं पर्यटन अभियन्ता मोहन शर्मा लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष अर्जुन लम्साल, जीतपुरसिमरा उपमहानगरका नगर सभा सदस्य राकेश सुब्बा, भिमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुह पथलैयाका अध्यक्ष सुमन थापामगर, निवर्तमान अध्यक्ष पेशलकुमार मुल्मी, समाजसेवी रामदास धौजु लगायत स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधि तथा व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

















