निजगढ,जिल्ला प्रशासन कार्यालय कलैयाले गौरीशंकर क्याम्पसको साधारण सभा स्थगित गर्न अनुरोध गर्दै पत्राचार गरेपछि क्याम्पस सभाका सदस्यसहित संचालक समितिका पदाधिकारी र क्याम्पसका प्राध्यापकहरुकोे टोलीले बुधवार प्रमुख जिल्ला अधिकारी नवराज सापकोटासंग भेटघाट गरेको छ ।प्रमुख जिल्ला अधिकारी सापकोटाले मंगलवार पत्र पठाएर बुधवारको लागि तोकिएको क्याम्पस सभा रोक्न पत्राचार गरेपछि टोली जिल्ला प्रशासन कार्यालय कलैयामा पुगेको हो ।क्याम्पसको नियमावलीअनुसार तोकिएको सभा जिल्ला प्रशासन कार्यालयले पत्र पठाएर रोक्नु कानुन विपरित भएको भनेर आफूहरुले जानकारी गराएको संचालक समितिका अध्यक्ष एकबहादुर श्रेष्ठले बताउनुभयो । सभागीहरुले त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वायत्त संस्थाको रुपमा रहेको क्याम्पस सभा जिल्ला प्रशासन कार्यालयले रोक्न नसक्ने जिकिर गरेका थिए । सो अवसरमा प्रजिअ सापकोटाले सभामा कुनै किसिमको विवाद र व्दन्द उत्पन्न नहोस भन्ने मनसायले सहमतिको आधारमा कार्यक्रम गर्न अनुरोधमात्र गरेको बताउनुभएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।नेकपा एमाले बाहेक निजगढस्थित अन्य सबै राजनीतिक दलका प्रतिनिधिहरुले प्रजिअ सापकोटालाई बुधवार भेटर क्याम्पसको नियमावली परिवर्तन गरेर मात्रै सभाको आयोजना गरिनुपर्ने माग गर्दैं ज्ञापन पत्र बुझाएपछि प्रजिअ सापकोटाले निर्धारित सभा स्थगित गर्न र आगामी ७ दिनभित्र निजगढ नगरपालिका, बुद्धिजीवी, भद्रभलादमी र क्याम्पसका अभिभावकहरुको उपस्थितिमा छलफल गरी साधारण सभाको नयाँ मिति तय गर्न आग्रह गर्दै पत्राचार गर्नुभएको थियो ।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा र एकीकृत समाजवादी पार्टी निजगढका प्रतिनिधिहरुले क्याम्पस सभा रोक्न माग गरेका हुन ।

Leave a Reply