निजगढ,निजगढ नगरपालिका वडा नम्बर १० स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लालको सिसी टिभी क्यामरा चोरी भएको छ । चोरहरुको समूहले विद्यालयको प्रशासन शाखाको ताल्चा फुटाएर विद्यालयमा जडान गरिएको सिसी क्यामारा शनिवार राति चोरी गरेका हुन । विद्यालयका शिक्षकहरुले आइतवार बिहान मात्रै चोरीको घटना बारे जानकारी पाएका थिए ।
शिक्षकहरुले कोचिङ कक्षा शुरु हुनुअघि ईन्टरनेट, सिसी क्यामाराको तार काटिएको देखेपछि आइतवार बिहान ७ बजे घटानाबारे जानकारी पाएका हुन । ‘बिहान विद्यालयमा पुगेका शिक्षकहरुले प्रशासन शाखाको ताल्चा फोडेको देखेपछि घटनाबारे थाहा भयो, विद्यालयका प्रधानध्यापक दिनानाथ शाहले भन्नुभयो, घटनाको प्रकृति हेर्दा चोरी गर्नेभन्दा पनि विद्यालयमा क्षति पु¥याउने उदेश्य देखिन्छ ।’ चोरहरुले कम्प्युटरको मनिटर फुटाएको र सिसी टिभीको केही क्यामारा मर्काएर भाँचेको पनि उहाँले सुनाउनुभयो ।
शनिवारको दिन विद्यालय बन्द रहेकाले सो घटना कुन बेला भएको भनेर यकिन गर्न नसकिएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहले जानकारी दिनुभयो । घटनामा के–कति क्षति र चोरी भयो भनेर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कुशवाहले जानकारी दिनुभयो ।