निजगढ,तौल कम राखेर गाईभैसीलाई खुवाउने ढुटो बिक्री गरेको आरोपमा इलाका प्रहरी कार्यालय निजगढले निजगढ नगरपालिका वडा नम्बर ६ स्थित गणेश खाद्यान्न भण्डारबाट ५३ बोरा ढुटो नियन्त्रणमा लिएको छ ।खाद्यन्न भण्डारले निजगढ ६ स्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्थाका पशुपालक किसानलाई बिक्री गर्न भनेर लगेको ३० केजी क्षमताको बोरामा ३ केजीसम्म कम पाइएपछि प्रहरीले बिक्री गर्ने तयारी अवस्थामा राखिएको सो ढुटो नियन्त्रणमा लिएको हो । प्रहरीले खाद्यन्न भण्डारका एकजनालाई पनि नियन्त्रणमा लिएको छ ।वीरगञ्जस्थित संन्तोष एण्ड सितल खाद्य उद्योगबाट उत्पादित सो ढुटोको बोरामा तोकिएकोभन्दा कम तौल पाइएपछि नियन्त्रणमा लिएको हो । उद्योगको मुख्य वितरकको रुपमा रहेको सिमरास्थित आरके सप्लायर्सबाट खरिद गरेर गणेश खाद्यन्न भण्डारले सो ढुटो स्थानीय किसानलाई बिक्री गरेको थियो ।दुग्ध उत्पादक सहकारी संस्थाले आफ्ना किसानहरुको लागि बिक्रेतामार्फत पशुआहार उपलब्ध गराउने र दुध बिक्रीको पैसाबाट सोको रकम कट्टा गर्ने गर्दैआएको छ ।घटनाको बारेमा बागदेव दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष थानेश्वर सापकोटाले आइतवार एक विज्ञप्ति निकालेर गणेश खाद्य भण्डारले गत माघ ५ गते बागदेव दुग्ध उत्पादक सहकारी संस्थाको सिगौँल सेवा केन्द्रका किसानलाई बिक्री गर्न भनेर १ सय बोरा ढुटो ढुवानी गरेकोमा संस्थाका कर्मचारीद्धारा नाप जाँच गर्ने क्रममा प्रतिबोरा ३ केजीसम्म कम पाइएको र सोको कारबाहीको लागि कानुनी प्रक्रिया शुरु भएको बताउनुभएको छ ।घटनापछि कानुनी कारबाही अघि बढाइएको बताउदै सहकारीका अध्यक्ष सापकोटाले सिंगौल सेवा केन्द्रमा लागिएको १ सय बोरा मध्ये ८७ बोरा ढुटो कृषकले खरिद गरिसकेकोले प्रत्येक बारोमा ३ केजी घटाएर २७ केजी कायम गरी कृषकको हिसाब राखिने पनि जानकारी दिनुभयो । साथै सहकारीले आगामी दिनमा उक्त खाद्य भण्डारबाट कुनै पनि किसिमको व्यापारिक कारोवार नगर्ने समेत जानकारी गराएको छ ।खाद्य भण्डारका संचालक रामप्रसाद हुमागाई सहकारी संस्थाको लेखा समितिको सदस्य पनि हुनुहुन्छ । संस्थाको मान मर्यादामा आँच पुग्ने कार्य गरेको प्रमाणित भएको खण्डमा हुमागाईमाथि संस्थाले थप कारबाही पनि गर्ने उहाँले बताउनुभएको छ ।खाद्य भण्डारका संचालकले भने डिलरबाट आउँदाको अवस्थामा नै ढुटो कम आएको बताएका छन ।

Leave a Reply