निजगढ,निर्माणाधीन काठमाडौँ– तराई– मधेश द्रुतमार्गमा चिनियाँ कम्पनीले काम गरेबापतको रकम भुक्तानी नदिएको व्यवसायीहरुले गुनासो गरेका छन् । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन द्रुतमार्गको ठेक्का लिएको चाइनिज कम्पनी पोलीछाङ्दाले स्थानीय नेपाली निर्माण व्यवसायीहरुलाई लामो समयदेखि भुक्तानी रोकेको व्यवसायीको गुनासो छ ।
मकवानपुरको बकैया गाउँपालिका– ११ र मकवानपुरगढी गाउँपालिका– १, लेनडाँडाको प्याकेज नम्बर २ को चालिसेडाँडामा माटो कटान गरेको एक्साभेटर तथा गाडी भाडा भुक्तानी नपाएको जय गौरीशङ्कर कन्स्ट्रक्सनका प्रोप्राइटर प्रेमबहादुर मुक्तानले गुनासो गर्नुभयो ।
उहाँका अनुसार चिनियाँ कम्पनीसँग नेपाली निर्माण कम्पनी जिएलबी कन्स्ट्रक्सनले ४२ लाख, बिएन्डबी कन्स्ट्रक्सनले १८ लाख, अभिनाश ढुवानी सेवाले १८ लाख, जय गौरीशङ्कर कन्स्ट्रक्सनले १३ लाख ८४ हजार, कालीदेवी कन्स्ट्रक्सनले १० लाख सात हजार, आर्यतारा कन्स्ट्रक्सनले आठ लाख ३० हजार र बिएन्डबी (ख) कन्स्ट्रक्सनले पाँच लाख रुपियाँ भुक्तानी पाउन बाँकी रहेको छ ।लामो समयदेखि भुक्तानी नपाउँदा समस्यामा परेको आर्यतारा कन्स्ट्रक्सनका प्रोप्राइटर राजीव घलान र बिएन्डबी कन्स्ट्रक्सनका प्रोप्राइटर सोमबहादुर तिमल्सिनाले काम गरेको भुक्तानी नपाउँदा बैङ्कको किस्ता तिर्नसमेत समस्या भएको गुनासो गर्नुभएको छ ।



















