सेढवा,राष्ट्रिय वन क्षेत्रबाट १५-१६ वटाको संख्यामा निस्किएको हात्तीको समूहले पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर २ बसन्तपुरमा प्रेमनारायण पटवारीको घर भत्काउनुको साथै धानबालीमा क्षति पुर्याएको छ ।शुक्रवार राति साढे ७ बजे बस्तिमा पसेको हात्तीको समूहले पटवारीसहित रमेश खाँ र शिवशंकर साहको पाक्ने लागेको दश कट्ठा खेतको धानबाली खानुका साथै माडेर क्षति पुर्याएको छ । यसका साथै सिँचाईको लागि प्रयोग गरिएको दमकल र ट्यूबवेलमा समेत क्षति पुर्याएको स्थानियले बताएका छन् ।

खेतमा रहेको पिपलबोटमा मचान बनाएर बाली जोगाउन बस्दै आएका पटवारीले हात्तीको समुहले खेतमा पसेपछि हाती धपाउन गाउँमा फोन गरी सहयोगका निम्ति स्थानीयहरुलाई बोलाएको बताउनुभयो ।दुई वटा ट्याक्टर लिएर गाउँलेहरु हात्ती धपाउन आएका र ट्याक्टरको ठूलो आवाज सुनेपछि हात्ती डराएर जङ्गल पसेको उहाँले सुनाउनुभयो । हात्तीको समूह रातको करिब १० बजेपछि मात्रै जंगल पसेका पटवारीले बताउनुभयो ।त्यसपछि सोही रात फेरी साढे १२ बजे पुनः हाती खेतमा पसेर बालीमा क्षति पुर्याएका पटवारीले जानकारी दिनुभयोे । उक्त हात्तीको समूहले काठमान्डौ टोल शान्तिनगरका किसानहरुले लगाएका तोरी बालीमा समेत क्षति पुर्याएको छ ।



















