काठमाण्डौं,अभ्यास खेलमा नेपाल क्यानडाको दोस्रो रोजाइको टोलीसँग पनि पराजित भएको छ । क्यानडा भएको त्रिदेशीय टी–२० श्रृङ्खलापछि शुक्रवार राति भएको एकदिवसीय अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली क्यानडाको हाईप्रफमेन्ससँग तीन विकेटले पराजित भएको हो ।
नेपालले दिएको एक सय ४४ रनको लक्ष्य क्यानडाको हाइप्रफमेन्स टोलीले ३६ ओभर ५ बलमा ७ विकेट गुमाएर भेट्टायो । अनिलकुमार शाहले ४ विकेट लिए पनि टोलीको हार टार्न सकेनन् । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ३९ ओभर ४ बलमा एक सय ४३ रनमा समेटियो ।
अनिल शाहले ३४, अर्जुन साउदले ३३, कुशल भुर्तेलले २५ तथा आरिफ शेखले २३ रन बनाए । क्यानडा हाईप्रफमेन्सका शाहिदले ५ विकेट लिए । विश्वकप क्रिकेट लिग–२ का लागि अमेरिका प्रस्थान गर्नुअघि नेपालले क्यानडामा अभ्यास खेल खेलेको हो ।
त्यसअघि क्यानडामा नै लिग–२ अन्तर्गत नेपाल, क्यानडा र ओमानबीच खेल भएकोमा क्यानडासँगको दुई खेल तथा ओमानसँगको एक खेल हारेकोमा अर्को खेल वर्षाले रद्द भएको थियो । नेपालले पहिलो श्रृङ्खला कीर्तिपुरमा खेलेको थियो । अहिलेसम्म ८ खेल खेलेकोमा एउटा खेलमा नेदरल्यान्ड्सलाई हराउनुबाहेक अरु ६ खेलमा नेपाल पराजित भएको छ ।



















