वीरगञ्ज,वीरगञ्जमा मोटरसाइकल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरूमा बाराको कोल्हबी नगरपालिका वडा नम्बर ६ प्रसौनाका रितेश चौधरी र प्रवीण चौधरी रहेका छन् ।उनीहरूलाई सोमवार राति वीरगञ्जको नगवा चौकबाट पक्राउ गरिएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार केही दिनअघि सशस्त्र प्रहरी सहायक हवलदार सन्दीप चौधरीको मोटरसाइकल चोरी गरेर उनीहरू फरार भएका थिए । उक्त मोटरसाइकल कलैया उपमहानगरपालिका वडा नम्बर ४ पन्नाबाग टोलबाट चोरी भएको थियो ।
सहायक हवलदार चौधरीकै सहयोगमा नगवाका स्थानीय बासिन्दाहरूले चोरहरूलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । पक्राउ पर्ने क्रममा स्थानीयहरूले उनीहरूलाई कुटपिट समेत गरेको बुझिएको छ ।
प्रहरीले चोरहरूको बयान र अनुसन्धानपछि थप कारबाही प्रक्रिया अघि बढाउने बताएको छ ।

Leave a Reply