काठमाण्डौ – बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा नियुक्त हुनुभएको छ ।नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ गरी ६४ जना सांसदको समर्थनसहित दाबी पेश गर्नुभएका लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलवार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको । एक सय १० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ जना सांसदको समर्थन आवश्यक पर्छ ।
प्रदेश प्रमुख शर्माले मंगलवार बेलुका ५ बजेभित्र बहुमतको सरकार गठनका लागि अस्ति आइतवार आह्वान गर्नुभएको थियो । लामा नुवाकोटको प्रदेश सभाबाट निर्वाचित हुनुहुन्छ ।लामाले नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री पदको मंगलवार नै दाबी पेश गर्नुभएको हो । उहाँले कांग्रेसका ३७ र नेकपा एमालेका २७ गरी ५६ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको हो । दाबी पेश गर्ने क्रममा कांग्रेसका सांसद एवम् बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, उपनेता रामकृष्ण चित्रकार, एमाले संसदीय दल नेता जगन्नाथ थपलिया, पूर्वमन्त्री केशव पोखरेल लगायत प्रदेश प्रमुख कार्यालय पुगेका थिए ।
बाग्मतीमा यसअघि एमालेको समर्थनमा नेकपा (माओवादी केन्द्र) का शालिकराम जम्कट्टेल मुख्यमन्त्री रहेकोमा एमाले र कांग्रेस मिलेपछि उहाँले राजीनामा दिनुभएको छ ।मुख्यमन्त्रीसँगै बाग्मतीमा मन्त्रालयको समेत भागबन्डा टुङ्गिएको छ । कांग्रेसले मुख्यमन्त्रीसहित सात र एमालेले भौतिक पूर्वाधार मन्त्रालयसहित ६ वटा मन्त्रालय लिने सहमति भएको छ ।


















