सिमरा,पर्सा राष्ट्रिय निकुञ्जभित्र कृत्रिम पोखरीहरु निर्माण गरेर जनावरलाई पानी खाने सुविधा मिलाइएको छ ।पर्सा राष्ट्रिय निकुञ्ज अन्तरगत पथलैया निजगढ खण्डमा वन्यजन्तुलाई पानी खान कृत्रिम पोखरी बनाएर पानीको व्यवस्था गरिएको हो । पानी ट्यांकरबाट कृत्रिम पोखरीमा पानी हालेर वन्यजन्तुले खाने प्रवन्ध मिलाइएको निकुञ्जका सहायक संरक्षण अधिकृत सन्तोष भगतले बताउनुभयो ।निकुञ्जको जंगलमा ३० वटा आरसीसी र ५० वटा माटोका गरी ८० पोखरी बनाइएको छ । सो पोखरीको संख्यामा हल्खोरिया, मिनी हल्खोरिया तथा काली दहलाई पनि गणना गरिएको छ । निकुञ्ज कार्यालय रहेको आधाभार क्षेत्र तथा भेडाहा खोलादेखि महादेव खोलासम्मको क्षेत्रका कृतिम पोखरीमा पानी हाल्ने गरिएको छ । पर्सा, बारा र मकवानपुरमा गरी ६ सय २७ दशमलव ३९ वर्गमिटरमा फैलिएको निकुञ्जमा राप्ती र भाठा खोलाबाहेक अन्य खहरे खोलामा वर्षैभरि पानी उपलब्घ छैन । निकुञ्जमा लौकी, कामिनी, हल्खोरिया र काली गरी चार वटा प्राकृतिक दह रहेका छन ।वन्यजन्तुले पानी पिउन पनि लामो यात्रा गर्नुपर्ने भएकाले निकुञ्ज प्रशासनले केही वर्षयता कृत्रिम पोखरी निर्माणलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । पर्सा राष्टिय निकुन्जमा ३७ प्रजातिका स्तनधारी, ४ सय ९० प्रजातिका चराचुरुंगी, १३ प्रजातिका सरिसृप र ३१ प्रजातिका पुतली रहेको बताइएको छ ।



















