सिमरा,स्थापना दिवसको अवसरमा सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाले बुधबार सम्मान तथा पुरस्कार वितरण कार्यक्रम गरेको छ ।१९औं स्थापना दिवस मनाईरहेको संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा शिक्षा, बचत, सामाजिक योगदान तथा सदस्य सम्मानलाई प्राथमिकता दिँदै विभिन्न व्यक्तिहरूलाई सम्मान तथा पुरस्कृत गरेको हो ।

कार्यक्रममा नगरभित्र रहेका सामुदायिक क्याम्पसबाट चारवर्षे स्नातक तहमा समग्रतर्फ प्रथम हुने एक/एक जना छात्र र छात्रालाई पुरस्कृत गर्नुका साथै उनीहरूका अभिभावकलाई सम्मान गरिएको थियो । यसैगरी सामाजिक क्षेत्रमा योगदान पु¥याएको भन्दै जीतपुरसिमरा उपमहानगरपालिका १४ निवासी नारायण बर्तौलालाई विशेष सम्मान गरिएको थियो । कार्यक्रममा संस्थामा आवद्ध ६० जनाभन्दा बढी ज्येष्ठ सदस्यलाई सम्मान गरिएको संस्थाका अध्यक्ष रामचन्द्र पौडेलले जानकारी दिनुभएको छ ।यसैगरी संस्थाका प्रत्येक सेवाकेन्द्रबाट एक/एक जना उत्कृष्ट नियमित बचतकर्ता तथा कर्जा कारोबारकर्ता, एक जना बाल बचतकर्तालाई सम्मान गर्नुका साथै संस्थाका कर्मचारी सुनिल पटेललाई पुरस्कार पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्य देवनारायण चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, इलाका प्रशासन कार्यालय सिमराका प्रमुख राजेन्द्रप्रसाद कंडेल, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा, संस्थाका तथा लेखा समिति सदस्य तथा पूर्वअध्यक्ष यज्ञबहादुर आलेलगायत उपस्थित थिए ।
संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव चुडामणी गौतमले सहजीकरण गर्नुभएको थियो भने लेखा समिति संयोजक आलेले स्वागत तथा उपाध्यक्ष मनकुमारी खनालले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।स्थापना दिवसका अवसरमा विविध कार्यक्रम गर्दै हातेमालोले यसअघि रक्तदान, बाल सदस्य संवाद, दीप प्रज्ज्वलनलगायतका कार्यक्रम गरेको थियो ।

Leave a Reply