काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ समारोहमा सहभागी हुन आइतवार दिउँसो नयाँ दिल्ली पुग्नुभएको छ ।प्रधानमन्त्री प्रचण्डलाई नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतको विदेश मन्त्रालयका विशेष सचिव पी कुमारनले स्वागत गर्नुभएको छ ।
तेस्रो कार्यकालका लागि भारतीय जनता पार्टी (भाजपा) का नेता मोदीले आइतवार बेलुकी प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम छ । शपथ समारोहपछि प्रधानमन्त्री प्रचण्ड र उहाँका समकक्षी मोदीबीच आइतवार नै भेटवार्ता हुने नयाँ दिल्लीमा रहेको नेपाली राजदूतावासले जनाएको छ ।आइतवार बेलुका सवा ७ बजे मोदीले शपथ लिने कार्यक्रम छ । शपथ समारोहपछि प्रचण्ड भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले दिने रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ ।मोदीको शपथ ग्रहणमा श्रीलङ्का र माल्दिभ्सका राष्ट्रपति तथा बङ्गलादेश, भुटान र मौरिससका प्रधानमन्त्री पनि नयाँ दिल्ली आएका भारतीय विदेश मन्त्रालयले जनाएको छ ।प्रधानमन्त्री प्रचण्डका साथमा उहाँकी छोरी तथा स्वकीय सचिव गङ्गा दाहाल, कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्च पदस्थ सरकारी अधिकारी पनि हुनुहुन्छ । प्रचण्ड सोमवार स्वदेश फर्कने कार्यक्रम छ ।
यसअघि मोदीको पहिलो कार्यकालको शपथ ग्रहणमा स्वर्गीय सुशील कोइराला र दोस्रो कार्यकालको शपथ ग्रहणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भारत जानुभएको थियो ।गएको मङ्गलवार भएको मतगणनामा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीए गठबन्धनले बहुमत ल्याएपछि प्रधानमन्त्रीमा नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि नियुक्त हुनुभएको छ । ७३ वर्षका उहाँको यो ऐतिहासिक तेस्रो कार्यकालको शपथ हुनेछ । लोकसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले एकल बहुमत ल्याउन नसके पनि मोदी एनडीए गठबन्धनको तर्फबाट प्रधानमन्त्री बन्नुभएको हो ।

















