संसद भनेको आम नागरिकहरुको बिषय उठान हुने स्थान हो । संसदमा जनप्रतिनिधिहरु हुन्छन् र उनीहरुले आफ्ना क्षेत्रका जनताको कुरा उठाएर सरकारको ध्यानाकर्षण गराउने गर्दछन् तर नेपालको सदनमा भने ठीक उल्टो गतिबिधि देखिन्छ । जनताको समस्या एकातिर छ अर्कोतिर सत्ताका लागि दलहरु मरीहत्ते गर्दछन् । नेपालको सदनमा त जनताको कुरा भन्दा पनि आफ्नो स्वार्थका लागि गतिबिधिहरु हुने गर्दछन् । पछिल्लो समय सहकारी प्रकरणको नाउमा नेपाली काँग्रेसले लगातार जसो सदन अवरुद्ध गर्दै आइरहेको छ ।
सहकारीको कुरा नागरिकहरुको सरोकारको कुरा भएपनि यो काँग्रेसले आफ्नो स्वार्थका लागि उठाएको बिषय हो । किनभने रबि लामिछाने गृहमन्त्री हुनुपूर्व काँग्रेस आफै सत्तामा थियो र उसले लामिछानेलाई कारवाही गर्ने हैसियत पनि राखेको थियो तर जब काँग्रेस सरकारबाट बाहिरियो अनि उसले अनेक प्रपन्च गर्न थालेको कुरा नागरिकहरुले सहज रुपमा बुझ्न सक्ने कुरा हो ।
काँग्रेसकै अवरोधका कारण सदन भने अवरुद्ध छ । लामो समयदेखि सदन अवरुद्ध हुँदा जनताको कुराहरु भने ओझेलमा परिरहेका छन् । उनीहरुका कुरा सदनमा उठाइदिने कोही छैन । सरकार पक्ष र प्रतिपक्षको रबैयाका कारण सदन पनि बेकुफ बनाइदैछ । सदनको औचित्यमाथि नै प्रश्न तेर्साउने काम पनि गरिदैछ । वास्तवमा नेपालको सदनबाट जबसम्म सरकार बनाउने र गिराउने खेल हुन्छ वा यस्तो प्रर्णाली रहन्छ तबसम्म जनताको कुराले स्थान नपाउने चैं निश्चित छ ।













