गोकुल घोरसाइने,
निजगढ, २५ भदौँ– बाराका पत्रकार बिरेन्द्र साहको हत्यामा संलग्न रहेका अर्का अभियुक्त हरेराम पटेल भनिने हरेरामप्रसाद कुर्मी पनि पक्राउ परेका छन् । प्रहरीले कोहल्बी नगरपालिका वडा नम्बर– सपहीबाट कुर्मीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
कोहल्बी तथा निजगढ नगरपालिकाआपसाप क्षेत्रमा लुकिछिपी बस्दै आएको बिशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटेको प्रहरी टोलीले उनलाई बिहिबार दिउसो पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनीले बताउनुभयो ।
पत्रकार साहको हत्यापछि फरार पटेललाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको हो । साहको हत्या अभियोगमा यसअघि प्रहरीले पुर्व माओवादी कार्यकर्ता मनोज गिरी, रामएकवाल सहनी र कुन्दन फौज्दारलाई पक्राउ गरिसकको छ । पक्राउ परेका मध्ये रामएकवाल सहनी र मनेजर गिरीलाई अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । उनीहरु कारागारमा सजाए काटी रहेका छन् ।
पत्रकार साहको हत्यामा मुख्य योजनाकारी भनिएका लालबहादुर चौधरी धामी भने अझै पनि फरार नै छन् । चौधरीकोसमेत खोजतलास भैरहको प्रहरी उपरीक्षक पंगेनीले बताउनुभयो । पक्राउ परेका पटेललाई शुक्रबार पिसिआर परीक्षण गराइ अदालत पेश गरिने प्रहरीले बताएको छ ।
उपरीक्ष पंगेनीले जिल्ला प्रहरी कार्यालय बाराको कमाण्ड सम्हाले लगत्तै मुख्य आरोपी मध्येका एक कुन्दन फौज्दार पक्राउ परेका थिए । पछिल्लोपटक पङ्गेनीकै नेतृत्वमा रहेको प्रहरीले पटेललाई पनि पक्राउ गरेको हो । पटेलमाथि लुटपाट तथा अपहरण लगायतका मुद्दासमेत रहेको प्रहरीले जनाएको छ ।
जिल्लाको साविक इनर्वासिरा गाविस वडा नम्बर– ८ बस्ने ३४ वर्षिय पत्रकार विरेन्द्र साहको तत्कालीन माओवादी कार्यकर्ताले २०६४ असोज १८ मा अपहरण गरी टाँगियावस्तिको जंगलमा लगेर गोली हानी हत्या गरेका थिए । साहको शव खाल्टो खनी गाढिएको अवस्थामा २२ कात्तिकमा फेला परेको थियो ।