काठमाण्डौं,सरकारले खाडी राष्ट्र कतारलाई जोडी हात्ती उपहार दिने भएको छ ।आगामी ११–१२ वैशाखमा हुने कतारका राजा शेख तमिम बिन हमद अल थानीको नेपाल भ्रमणका क्रममा ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ नामक हात्ती उपहार दिइने भएको हो । कतार एयरलाइन्सको जहाजमार्फत उनीहरूलाई लगिनेछ ।

वन मन्त्रालयका प्रवक्ता बद्रीराज ढुंगानाका अनुसार ०७५ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका क्रममा नेपालले जनाएको प्रतिबद्धताअनुसार हात्ती उपहार दिइन लागिएको हो । त्यतिखेर हात्ती र शाही बाज उपहार दिने प्रतिबद्धता जनाइए पनि कतारले बाज आवश्यक नभएको बताइसकेको छ । ‘कतारी राजाको नेपाल भ्रमणका क्रममा हस्तान्तरण गर्ने गरी तयारी अगाडि बढाएका छौँ, हात्ती पठाउन समझदारीपत्रमा हस्ताक्षरको तयारी भइरहेको छ,’ उहाँले भन्नुभयो ।

हात्ती उपहार दिन मन्त्रिपरिषद्बाट औपचारिक निर्णय हुन भने बाँकी छ । कतारमा नेपाली हात्तीका लागि वातावरणीय अवस्था बुझेर नेपाली प्राविधिक टोली फर्किसकेको छ भने कतारबाट पनि लैजाँदा अपाउनुपर्ने प्राविधिक पक्ष बुझ्न टिम आएको थियो ।हात्तीको स्याहारसुसारमा कमी नहोस् भनेर कतारले हात्तीको उपचारसँग अभ्यस्त पशु चिकित्सक र माहुते पनि माग गरेको छ । उनीहरूलाई कतार सरकारले आफ्नो देशकै कर्मचारीसरहको सरकारी सेवा सुविधा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here