आर.के. चौधरी
सखुवाप्रसौनी,पर्साको ग्रामीण भेगमा विगत एक महिनादेखि आतंक मच्चाउँदै आउने मध्ये एउटा पाटे बाघलाई निकुञ्ज र डिभिजन वन कार्यालयको प्राविधिक टोलीले नियन्त्रणमा लिएको छ ।पर्सा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय पर्साको संयुक्त प्राविधिक टोलीले घरपालुवा हात्तीको सहयोगमा बिहीवार दिउसो उक्त भाले बाघलाई बेहोस पारेर नियन्त्रणमा लिएको हो । बाघ नियन्त्रणमा लिन प्राविधिकहरुको टोली विगत १० दिनदेखि सो क्षेत्रमा परिचालन भएको थियो ।
प्राविधिक टोलीले पर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर २ स्थित उखुबारीबाट लुकेर बसेको अवस्थामा बाघलाई डाट गरेर लठ्याएपछि नियन्त्रणमा लिइएको सब डिभिजन वन कार्यालय रंगपुरका प्रमुख कपिलदेव यादवले जानकारी दिनुभयो ।पर्साको सखुवा प्रसौनी र पटेर्वा सुगौली गाँउपालिकाका विभिन्न गाँउमा विगत एक महिनादेखि आतंक मच्चाउँदै आएका २ मध्ये एउटा बाघलाई नियन्त्रणमा लिइएको हो । सो क्षेत्रमा अर्को एउटा पोथी बाघ पनि रहेको स्थानीयले बताएका छन । तर प्राविधिकहरुको टोलीले सो पोथी बाघको बारेमा भने अझैसम्म पनि कुनै जानकारी प्राप्त गर्न नसकेको बताइएको छ ।
सो अवधिमा बाघको आक्रमणबाट एक जना स्थानीयको मृत्युु भएको छ भने अर्का एक जना पनि घाइते भएका थिए । राष्ट्रिय वन क्षेत्र नजिकको बस्तिमा पसेर सो बाघले किसानले पालेका दर्जनौं चौपाया मारिसकेको छ ।डिभिजन वन कार्यालय पर्साका प्रमुख हेमन्तप्रसाद साहका अनुसार उक्त बाघलाई नियन्त्रणमा लिन दुवै निकुञ्जका १० जना प्राविधिक र वन कार्यालयका ५ जना गरी १५ जनाको टोली र तीन वटा हात्ती विगत १० दिनदेखि खटिएको थियो । टोलीले लुकेर बसेको सम्भावित स्थानहरुमा सिसिटिभी क्यामेरा जडान गरेर बाघको निगरानी गर्दैआएको थियो । बुधवार राति सिसिटिभी क्यामेरामा रेकर्ड भएको फुटेजको आधारमा पिछा गर्ने क्रममा टोलीले सखुवा प्रसौनी २ को उखुबारीमा लुकेर बसेको अवस्थामा सो बाघ फेला पारिएपछि डाट हानेर बेहोश पारेर नियन्त्रणमा लिइएको यादवले बताउनुभयो । अर्को पोथी बाघ भने अझै फेला पार्न नसकिएको उहाँले बताउनुभयो ।
नियन्त्रणमा लिइएको बाघलाई खोरमा राखेर चितवन राष्ट्रिय निकुञ्जतर्फ लगिएको यादवले जानकारी दिनुभयो । बाघ नियन्त्रणका लागि खटिएको निकुञ्ज र वन कार्यालयको टोलीलाई सखुवा प्रसौनी गाँउपालिका कार्यालयले आवश्यक सहयोग गरेको गाउँपालिका अध्यक्ष यशवन्त यादवले जानकारी दिनुभयो ।















