निजगढ,निजगढ नगर उद्योग बाणिज्य संघको प्रथम अघिवेशनबाट अध्यक्षमा दिपेन्द्र श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
आइतवार बिहान सम्पन्न मत गणना परिणाम अनुसार संघको कार्यसमितिमा श्रेष्ठको प्यानल नै विजयी भएको छ । मत परिणामअनुसार अध्यक्ष श्रेष्ठ ८६ मत अन्तरले विजयी हुनुभएको हो । श्रेष्ठले १ सय ८९ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्वन्द्वी रविकुमार बर्तौलाले १ सय ३ मत प्राप्त गर्नुभयो ।
कुल ३ सय ७६ मतदाता रहेको निर्वाचनमा ३ सय ७ मत खसेको थियो । मत परिणाम घोषणा भएलगत्तै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले सबै व्यवसायीहरुलाई समेटेर व्यवसायीहरुको हकहितमा काम गर्ने बताउनुभयो । त्यसैगरी संघको प्रथम उपाध्यक्षमा १ सय ६३ मत ल्याएर गोरखबहादुर खड्का, व्दितीय उपाध्यक्षमा २ सय मत ल्याएर नवराज मैनाली, तृतीय उपाध्यक्षमा २ सय ३ मत ल्याएर उषा लामा मोक्तान विजयी भएका छन् ।
यस्तै महासचिवमा १ सय ५१ मतकासाथ गोविन्द न्यौपाने र कोषाध्यक्षमा १ सय ८८ प्राप्त गरेर होमप्रसाद न्यौपाने (महेश) विजयी भएका छन् । त्यसैगरी बाणिज्यतर्फ सचिवमा विजय तिमल्सिना र उद्योगतर्फ सचिवमा विष्णुप्रसाद रिसाल निर्वाचित भएका छन ।
१२ जना खुल्ला सदस्य पदका लागि २४ जनाको प्रतिस्पर्धामा श्यामकुमार श्रेष्ठ, उमेश दाहाल, सरोज कोइराला, सीताकुमारी गौतम (उप्रेती), कृष्णबहादुर सुनार, अजित कोइराला (इराज), भोलाप्रसाद तिमल्सिना, दिपा सापकोटा, उत्सव श्रेष्ठ, अरुणकुमार साह, अभिषेक शर्मा (वैकुण्ठ) र गणेशबहादुर क्षेत्री (रायमाझी) विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
यसअघि निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले अधिवेशनको उद्धाटन गर्नुभएको कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि, समाजसेवी र व्यवसायीहरुले अधिवेशन सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो । संघका अध्यक्ष रामकृष्ण नेपालको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष निर्मल भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको संचालन उमेश सुनारले गर्नुभएको थियो ।


















