पुष्पराज खतिवडा
मनहर्वा,वीरगञ्ज युनाइटेड क्लबले तेस्रो मनहर्वा गोल्डकपको उपाधि उचालेको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ स्थित मौवादेवी खेल मैदानमा शनिवार भएको फाइनल खेलमा रिगल हेटौंडा रिसोर्टलाई २÷० ले पराजित गर्दै वीरगञ्जले उपाधि हात पारेको हो ।

जितसंगै वीरगञ्जले दुई लाख नगद हात पारेको छ भने उपविजेता हेटौंडाले एक लाख प्राप्त गरेको छ ।वीरगन्जको जितमा बिशाल खड्का र अमर डंगोलले समान एक÷एक गोल गरे । विशालको गोलबाट खेलको ३५औं मिनेटमा अग्रता लिएको वीरगञ्जका लागि अमरले ८८औं मिनेटमा दोस्रो गोल गरेका थिए ।प्रतिस्पर्धात्मक भिडन्तमा हेटौंडाले केही राम्रा अवसर बनाए पनि सदुपयोग भने गर्न सकेन । पहिलो सहभागितामै उत्कृष्ट प्रदर्शन गर्दै उपाधि होडमा उभिएको हेटौंडा उपविजेतामा चित्त बुझाउन बाध्य भयो ।

विधागत पुरस्कारतर्फ वीरगञ्जले नै वर्चश्व कायम गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको पुरस्कार वीरगञ्जका अमर डंगोल घोषित भए । अमरले सर्वाधिक गोलकर्ताको पुरस्कार समेत हात पारे ।यसैगरी उत्कृष्ट गोलरक्षक वीरगञ्जका दिलमणी चौधरी, उत्कृष्ट डिफेन्स विकास चौधरी, उत्कृष्ट प्रशिक्षक राजकिशोर धामीले प्राप्त गर्दा हेटौंडाका सुजल गुरुङले उत्कृष्ट मिडफिल्डरको पुरस्कार पाएका छन् ।

प्रतियोगिताको उदयीमान खेलाडी आयोजक मौवादेवी युवा क्लबका शिवकुमार सुवाल घोषित भए । यसैगरी प्रतियोगिताको फेयर प्लेको उपाधि आयोजक मौवादेवी युवा क्लबले प्राप्त गरेको छ । फाइनल खेलको म्यान अफ दि म्याच वीरगञ्जका सागर चौधरी घोषित भएका छन् ।प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडीलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, वडा नम्बर १८ का अध्यक्ष चतुरबाबु वाग्ले, वडा नम्बर १४ की अध्यक्ष चयन गुरुङ, क्लबका अध्यक्ष निर्मल यादव, पूर्वअध्यक्ष बसन्त खतिवडालगायतले पुरस्कार वितरण गरेका थिए । माघ १३ गतेदेखि आयोजित प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो ।

तेस्रो मनहर्वा गोल्डकपको समापन समारोहलाई सम्बोधन गर्दै जीतपुरसिमराका उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले खेलकुदको विकासका लागि विद्यालय तहमै लगानी गर्नुपर्ने बताउनुभएको छ ।
खेलकुद क्षेत्रमा अहिले करोडौं लगानी भएपनि प्रतिफल सन्तोषजनक हुन नसकेको भन्दै नगर प्रमुख पौडेलले विद्यालय तहमा हुने लगानीले खेल क्षेत्रको विकासमा टेवा पुग्ने बताउनुभयो । नगर प्रमुख पौडेलले उपमहानगरपालिकाको कार्यालयले हाल दुई करोड ५४ लाख रुपैया खेलकुद क्षेत्रमा लगानी भईरहेको बताउनुभयो । राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्नका निम्ति खेलकुद क्षेत्रको विकासका लागि उपमहानगरपालिका अघि बढ्ने नगर प्रमुख पौडेलको भनाई थियो ।समापन कार्यक्रममा जीतपुरसिमरा वडा नंम्बर १८ का वडाध्यक्ष चतुरबाबु वाग्लेलगायतले सम्बोधन गरेका थिए ।

क्लबका अध्यक्ष निर्मल यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण राजु कार्कीले गर्नुभएको थियो । कार्यक्रममा पूर्वअध्यक्ष बसन्त खतिवडाले स्वागत मन्तब्य राख्नुभएको थियो ।समापन कार्यक्रममा वडा नम्बर १६ का वडाध्यक्ष हरिदेव खरेल, वडा नमबर १ का वडा अध्यष हिराबहादुर गुरुङ, श्याबाबु खाँ, हेमनारायण चौधरी, दीपेन्द्र चौधरी, कार्यपालिका सदस्य प्रभावती पासवना, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी, साना किसान कृषि सहकारी संस्था मनहर्वाकी अध्यक्ष नयनकला खड्कालगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

Leave a Reply