
काठमाण्डौ,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद भएको छ ।शनिवार राति विमानस्थलमा अवतरण गरेको फ्लाई दुबईको जहाजबाट आएका विदेशी नागरिकको साथबाट ६ किलोभन्दा बढी सुन बरामद भएको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिनुभयो ।भन्सारबाट बाहिरिसकेको अवस्थामा प्रहरीले सुन बरामद गरेको हो । सुनको साथमा विदेशी नागरिक पनि पक्राउ परेका र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुई दिनअघि मात्रै विमानस्थलबाट १४ किलो सुन बरामद भएको थियो ।यसैबीच प्रहरीले काठमाण्डौको चन्द्रागिरी नगरपालिका– २ नागढुङ्गा चेकपोस्टबाट बरामद भएको २ केजी सुन प्रकरणमा १ चिनियाँलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा फरार रहेका चिनियाँ २७ वर्षीय चेन जीवेईलाई पक्राउ गरेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । यही प्रकरणमा प्रहरीले गएको बिहीवार राति नागढुङ्गा चेकपोस्टबाट रसुवाको गोसाइँकुण्डका ग्यालछिङ तामाङ, बिरु तामाङ र सुनिल भुजेललाई पक्राउ गरेको थियो । प्रहरीले रसुवाबाट काठमाण्डौ आउँदै गरेको बाग्मती प्रदेश ०१–०२८ च २६९७ नम्बरको जीपबाट सुन बरामद गरेको थियो ।पक्राउ परेका जीवेईलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।


















