पुष्पराज खतिवडा
मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ उचिडीमा दियोबाट सल्केको आगोले जलेर गम्भीर घाइते बनेकी एक जेष्ठ नागरिक (महिला) को बिहीवार मृत्यु भएको छ । स्थानीय ८९ बर्षिय दुर्गादेवी दाहालको उपचारका क्रममा बिहान काठमाण्डौंमा मृत्यु भएको हो ।गत कार्तिक ७ गते विजया दशमीका दिन बिहान घरमै पूजा गर्ने क्रममा दियोको आगो साडीमा सल्किएपछि शरीर जलेर दाहाल गम्भीर घाइते हुनुभएको थियो । परिवारका सदस्यले तत्काल उद्धार वीरगञ्जस्थित नेशनल मेडिकल कलेज एण्ड टिचिङ्ग सेन्टर लगेका थिए । तर त्यहाँ उपचार संभव नदेखिएपछि दहाललाई सोही दिन काठमाण्डौं लगिएको थियो ।जलेर गम्भीर घाइते भएकी वृद्धको बिहान साँढे ३ बजे किर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।मृतक दाहालको धार्मिक विधि अनुसार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । मृतक दाहालको अनुहारसहित शरीरको ३५ प्रतिशतभन्दा बढी भाग जलेको वडा नम्बर १८ का वडा अध्यक्ष चतुरबाबु वाग्लेले जानकारी दिनुभयो ।




















