कृष्ण मोहन साह

सेढवा,आफू सेवक भएकाले नागरिकको सेवाका लागि अहोरात खटेर काम गर्ने नेपाल सरकारका उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बताउनुभएको छ ।पर्साको जिराभवानी गाउँपालिका वडा नं १ भवानीपुरमा सामूदायिक भवनको उद्घाटन गर्दै मन्त्री रिजालले सोमवार सो कुरा बताउनुभएको हो ।पर्सा निर्वाचन क्षेत्र नं ४ का नागरिकहरुले आफ्नो अमूल्य मत दिएर निर्वाचित गराएको हुँदा उनीहरुको हरेक काममा सहयोग गर्न आफू तत्पर रहने मन्त्री रिजालले बताउनुभयो ।अहिले पानी नपर्दा किसानहरूमाथि ठूलो संकट परेकाले स्थानीय र प्रदेश सरकारले किसानमुखी योजना कार्यन्वन गर्न मन्त्री रिजालले आग्रह गर्नुभयो । नेपाल सरकारको उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी वहन गर्दै गर्दा आफ्नो निर्वाचन क्षेत्रप्रति त्यति ध्यान नजान सक्ने भन्दै मन्त्री रिजालले त्यस्तो भएमा औला ठ्डयाउन तथा लौरो तेर्सायाउन पनि पछि नपर्न नागरिकसंग आग्रह गर्नुभयो ।पर्सा जिल्लाका विकासका लागि संघीय सरकारले ठूलाठूला आयोजना निर्माण गरी कार्यन्वन गरिरहेको मन्त्री रिजालले बताउनुभयो ।आफ्नो निर्वाचन क्षेत्रका ३२ वटै वडाका आमनागरिकहरुसंग भेटघाट गर्ने, समस्याहरुको तथ्याङ्क संकलन गरी संघीय सरकारले ती समस्याहरुको सामाधान हुने गरी काम गर्ने मन्त्री रिजालले बताउनुभयो ।जिराभवानी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा मधेस प्रदेश सांसद शकरप्रसाद चौधरी, वडाध्यक्ष दारा सिंह राउत थारु लगायतले मन्तव्य व्यक्त गरेका थिए ।गाउँपालिका अध्यक्ष अनोज चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा काग्रेसका प्रदेश महामन्त्री बृहष्पतिकृष्ण श्रेष्ठ, रमेश पाण्डे, जगरनाथपुर गापाका अध्यक्ष श्रीकान्तप्रसाद यादव, सहरुम राउत गद्दी, नेपाली काङ्ग्रेस जिराभवानी गाउँपालिका सभापति मनमोहन चौधरी वडा नम्बर एकका सभापति सेख ग्यासुदिन, जिराभवानी गापाका उपाध्यक्ष रेखा चौधरी लगायतको सहभागिता रहेको थियो ।सो सामूदायिक भवन प्रदेश सांसद शकरप्रसाद चौधरीको संसदीय विकास कार्यक्रमबाट निर्माण गरिएको हो । सो कार्यक्रममा बिपी कोइरालाको जन्मजन्यतीको अवसरमा वृक्षारोपण समेत गरिएको थियो ।

















