वीरगञ्ज ,चुरे तथा वनजङ्गल संरक्षण अभियानले काठमाडौँको माइतीघर मण्डलामा सुरु गरेको धर्नामा पर्सा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य राजकुमार गुप्ताले ऐक्यबद्धता जनाउनुभएको छ ।जेठ ४ गते वीरगञ्जस्थति सिर्सिया नदीको प्रदूषित पानी बोकेर ११ दिने पदयात्रा गर्दै आइतबार काठमाडौँ पुगेका अभियानका सदस्यहरुसँग भेटघाट गरेर उनीहरुको माग पत्र बुझ्दै धर्नामा सांसद् गुप्ताले ऐक्यबद्धता जनाउनुभएको हो ।अभियानका संयोजक सुनिल यादव र संरक्षक सरोज राय यादवलगायतका अभियन्ताहरुसँग कुराकानी गर्दै सांसद् गुप्ताले सिर्सिया नदीलाई प्रदूषित बनाउने उद्योगलाई कारबाही गर्न सरकारमाथि दवाव सृजना गर्ने आफूले संसद्मा आवाज उठाउने बताउनुभयो । दशकौँदेखि उद्योगले दूषित पानी र अन्य रासायनि पदार्थ सोझै नदीमा मिसाउँदा सिर्सिया प्रदूषित बनेको भन्दै त्यस्ता सम्पूर्ण उद्योगलाई तत्काल बन्द गर्न सरकारसँग आफूले माग राख्ने उहाँले बताउनुभयो ।वर्तमान सरकारका उद्योगमन्त्री पर्सावासी हुँदाहुँदै पनि वीरगञ्जको सिर्सिया नदीको प्रदूषणलाई अन्त्य गर्न कुनै कदम नउठाइएकोमा दुःख व्यक्त गर्दै उहाँले सरकारलाई तुरन्तै कारबाही गर्नुपर्ने सुझाव दिनुभयो ।अभियन्ताहरु सिर्सियाको दूषित पानी बोत्तलमा भरेर काठमाडौँ पुगेका छन् । मंगलवार उनीहरुले प्रधानमन्त्री प्रचण्डलाई नदीको पानी उपहार स्वरूप दिएर सांकेतिक विरोध प्रदर्शन गर्ने योजना रहेको जनाएका छन् ।

















