सिमरा, बकुलिया भवानीपुर गोल्डकपको चौथो संस्करण बैशाख अन्तिम साता हुने भएको छ । जनकल्याणकारी क्लबको आयोजनामा बैशाख २३ गतेदेखि प्रतियोगिता हुने भएको हो ।प्रतियोगितामा वीरगन्ज युनाईटेड क्लब, मकवानपुर ११, एपीएफ बर्दिवास, जनउत्थान क्लब सिन्धुली, सर्लाही क्लब, चितवन फुटबल क्लब, वीरगन्ज युथ एकेडेमी र आयोजक बकुलिया भवानिपुर क्लबले सहभागिता जनाउनेछन् । बैशाख २९ गतेसम्म आयोजना हुने प्रतियोगिताको विजेताले एक लाख ७५ हजार र उपविजेताले ७५ हजार प्राप्त गर्नेछन् ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ वडा कार्यालयको मुख्य सहयोगमा हुने प्रतियोगिताको विधागततर्फका उत्कृष्ट खेलाडीले समेत पुरस्कार प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष घनश्याम चौधरीले जानकारी दिनुभयो ।पत्रकार सम्मेलनमा मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी, वडाध्यक्ष दीपेन्द्र चौधरी, वडासदस्य ईश्वर चौधरीसहित राजनीतिक दल र विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।


















