आरके राजन
सिम्रौनगढ,उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले सिम्रौनगढको विकासमा साथ दिने बताउँनुभएको छ ।सिम्रौनगढ उद्योग वाणिज्य संघद्वारा आयोजित स्वागत एव सम्मान कार्यक्रममा मन्त्री रिजाले बुधवार सो कुरा बताउनुभएको हो । ऐतिहासिक, पर्यटकीय एवं धार्मिक महत्वको क्षेत्रको रुपमा रहेको सिम्रौनगढसँग आफू राम्ररी परिचित भएको बताउँदै उहाँले सिम्रौनगढको चैतर्फी विकासको लागि साथ दिने बताउनु भयो ।‘यो स्थलको जति विकास हुनु पर्ने त्यति भएको छैन, मन्त्री रिजालले भन्नुभयो, सिम्रौनगढको चैतर्फी विकासको लागि सधै तपाईहरुको साथमा छु ।’ उहाँले अगाडि भन्नुभयो, ‘चाहे भन्सारको स्तरोन्नति गर्ने कुरा होस वा जग्गा मुअब्जाको विषय होस । विकासको काम लिएर आउँनुहोस् म साथ रहेर काम गर्नेछु ।’उहाँले थप्नु भयो( ‘म पर्सा जिल्लाबासी हुँ र हाल गहुँ, मसुरो काटिसकेपछि मेरो जिल्ला पर्साका खेतहरु सुखा अवस्थामा छन । तर यो बारा जिल्लामा यतिबेला चारैतिर मकै तथा धान खेतीले हराभरा भएको देख्दा खुसी लागेको छ ।’उहाँले कृषिको दृष्टिले झापा जिल्लापछि बारा जिल्ला देशकै अग्रणी स्थानमा रहेको पनि बताउँनुभयो । कृषिमा आधुनीकरण गर्न बारा जिल्लाको ठूलो योगदान रहेकोमा उहाँले सराहना गर्नुभयो ।बारा उद्योग संघ सिम्रौनगढ शाखाको आयोजनामा भएको कार्यक्रममा नेपाली काँग्रेस मधेस प्रदेशका उपाध्यक्ष चन्द्रशेखरकुमार यादव, महासमिति सदस्य उपेन्द्रप्रसाद जयसवाल, नेता रामनरेशकान्त कुशवाहा, महेन्द्रप्रसाद कुशवाह, गौरीशन्कर प्रसाद कुशवाह लगायतले आफ्नो विचार राख्नुभएको थियो ।उद्योग वाणिज्य संघ सिम्रौनगढ शाखाका अध्यक्ष लालबाबुप्रसाद कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मनत्वय रामनरेश प्रसाद कुशवाहले राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन ओमप्रकाश ठाकुरले गर्नुभएको हो ।



















