काठमाडौं । सुदूरपश्चिम प्रदेश ले दोस्रो राष्ट्रिय हक्की प्रतियोगिता अन्तर्गत पुरुषतर्फ उपाधि जितेको छ ।

नेपाल हक्की संघ को आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मा फ्लड लाइटमा भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा सुदूरपश्चिम र गण्डकी प्रदेश ले २–२ गोलको बराबरी खेले । सुदूरपश्चिमले १२ अंक जोड्दै उपाधि जित्यो भने गण्डकी प्रदेशले ९ अंकसहित दोस्रो स्थान हासिल गर्यो । कोशी प्रदेश ६ अंकसाथ तेस्रो भयो ।

महिलातर्फ गण्डकी प्रदेश १२ अंकसहित पहिलो, सुदूरपश्चिम ९ अंकसहित दोस्रो तथा मधेश प्रदेश ६ अंकसहित तेस्रो बने । दुवै समूहका शीर्ष तीन टोलीले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

पुरुषतर्फ सुदूरपश्चिमका महेश नेपाली उत्कृष्ट खेलाडी घोषित भए । गण्डकीका संगम घर्ती मगर उत्कृष्ट डिफेन्डर, सुदूरपश्चिमका विवेक जोशी उत्कृष्ट गोलरक्षक, बागमतीका अनिश खड्का उदीयमान खेलाडी तथा कोशीका सुदिप चौधरी सर्वाधिक गोलकर्ता बने ।

महिलातर्फ गण्डकीकी अंकिता अधिकारी उत्कृष्ट खेलाडी, गण्डकीकी सन्जु मगर उत्कृष्ट गोलरक्षक, सुदूरपश्चिमकी करुण ठगुन्ना उत्कृष्ट डिफेन्डर र मधेशकी लक्ष्मनीयाकुमारी दास उदीयमान खेलाडी घोषित भइन् । सुदूरपश्चिमकी बविता उराउ सर्वाधिक गोलकर्ता बनिन् ।

विजेतालाई बागमती प्रदेशकी उपसभामुख अप्सरा चापागाईंराष्ट्रिय खेलकुद परिषद्की कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पुरुष तथा महिलातर्फ लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबाहेक समान ५–५ प्रदेशका टोली सहभागी थिए ।

Leave a Reply