राजन कुमार बानिया
पोखरिया,पर्साको धोबिनी गाउँपालिकामा जिल्लाका सुरक्षा निकाय र गाउँपालिकाका जनप्रतिनिधिहरु बीच बिहीवार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको सभा कक्षमा आयोजित कार्यक्रममा शान्ति सुरक्षा कायम गर्न स्थानीय जनप्रतिनिधि र प्रहरी प्रशासन बीचको कायम गरिनुपर्ने सहकार्यको बारेमा छलफल गरिएको थियो ।त्यसैगरी कार्यक्रममा स्थानीय निकायमा भएका समस्या र त्यस्ता समस्या हल गर्न प्रहरी प्रशासनले खेल्नुपर्ने भूमिका र गर्नुपर्ने सहयोगको बारेमा पनि छलफल भएको थियो ।सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत भएको सो कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी प्रमुख अतिथिको रुपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा बोल्दै प्रजिअ रेग्मीले प्रत्येक वडामा वडा अध्यक्षको नेतृत्वमा समिति बनाएर गाउँ र टोलमा हुने झैझगडा, हुलदङ्गा तथा गैह्कानुनी कार्य नियन्त्रण र स्थानीय बासिन्दको पिरमार्का समाधान गर्ने बारेमा काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले जनप्रतिनिधिहरुले चाहेको खण्डमा पालिकाभित्र अतिक्रमण गरिएको सार्वजनिक जग्गा फिर्ता ल्याउन सकिने र यस कार्यमा प्रहरी प्रसाशन स्थानीय तहलाई सहयोग गर्न तयार रहेको प्रतिबद्धता पनि जनाउनुभयो ।स्थानीय जनप्रतिनिधिले जिल्ला प्रसाशन कार्यालयमा नागरिकता बनाउन जाँदा सर्वसाधारणले दुख भोगिरहेको र एउटा नागरिकता बनाउन पनि कम्तिमा तीन दिनसम्म लाग्ने गरेको भनेर गरेको गुनासोको बिषयमा प्रमुख जिल्ला अधिकारी रेग्मीले सो समस्याको बारेमा पहिलाको भन्दा धेरै सुधार भएको र आफूले अझै सुधार गर्दै जाने पनि बताउनुभयो । ‘जुनसुकै कर्मचारीले पनि जनतालाई सहज रुपमा सेवा उपलब्ध गराउनुपर्छ, प्रजिअ रेग्मीले भन्नुभयो, यदि कसैले अनावश्यक रुपमा दुख दिएको छ भने मलाइ भन्नुस, म त्यस्तो हुन दिन्न ।’कार्यक्रममा विशिष्ट अतिथि रहनु भएका जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाहले किसानहरुको लागि मलखाद बिउबिजन ल्याउन नरोकिए बताउदै प्रहरीले तस्करी गर्नेहरुको हकमा मात्रै कारबाही गर्ने गरेको बताउनुभयो ।उहाँले प्रहरी प्रमुखको रुपमा आफू जिल्लामा हुने चोरी, डकैति, लागुऔषध दुव्र्यसनी, तस्करी, ट्रफिक नियम उल्लघंन र शान्ति सुरक्षा कायम गर्ने जस्ता विषयमा आफू सचेत रहेको पनि बताउनुभयो ।धोबिनी गाउँपालिका अध्यक्ष मदन चौहानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका हेमन्त चौधरी, सशस्त्र प्रहरी बल पोखरियाका डिएसपी कमलकुमार खत्री, कृष्णकुमार, उपाध्यक्ष मन्जु देवी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महम्द नावाज हुसेन, अतिथि वडा अध्यक्ष अबास मियाँ, राजकिशोर प्रसाद कुर्मी, मनौवर अहमद, बन्धु साह तेली, देवेन्द्रप्रसाद कुर्मी, पत्रकार लालबाबु बानियाँ, ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहनबिक्रम केसी, स्थानीय नेता सलाउदिन अहम्द, माओवादीका युवा नेता संतोष पटेल, कार्यपालिका सदस्य दिनेस साह, सदस्य मदन सहनी, कार्यपालिका सदस्यहरु, गाउँपालिकाका कर्मचारी बृजकिशोर त्रिपाठी, पपु पटेल, केशवराजप्रसाद कुर्मी, रवि भुषण पटेललगायतको पनि सहभागिता थियो ।

















