रौतहट ४ असोज । बेबारिसे रुपमा रहेर थन्किएको घुम्ती शौचालयलाई चन्द्रपुर नगरपालिकाले पुन सञ्चालनमा ल्याउने भएको छ । राजमार्गमा सहज रुपमा शौचालयको व्यवस्था गर्ने उदेश्यले तीन वर्ष अगाडी खरिद गरिएको दुई वटा घुम्ती शौचालय प्रयोग विहिन बनेपछी थन्काएर राखिएको थियो ।
अढाई वर्ष देखि प्रयोग विहिन भई थन्काएर राखिएको घुम्ती शौचालयलाई नगरपालिकाले मंगलवार देखि एउटा सञ्चालनमा समेत ल्याएको हो । १५ लाख रुपैयामा खरिद गरेर ल्याएको दुई वटा शौचालय मध्ये एउटालाई चन्द्रनिगाहपुर स्थित मुख्य सडकमा राखेर सञ्चालनमा ल्याएको छ ।
नगरपालिकाले खरिद गरेर केही समय सञ्चालनमा ल्याएपनि अढाई वर्षभन्दा बढी समयदेखि उक्त शौचालयहरु प्रयोग विहिन गरेर थन्काएर राखेपछि नगरपालिका र जनप्रतिनिधिहरुको सर्वत्र आलोचना भईरहेको थियो । अहिले एउटालाई समान्य मर्मत सम्भार गरेर सञ्चालनमा ल्याएका छौं नगर प्रमुख संजय काफ्लेले भने अर्को घुम्ती शौचालयलाई पनि चाडै मर्मत सम्भार गरी सञ्चालनमा ल्याउने बबताउनुभयो । सञ्चालनमा आएको एउटा शौचालयलाई पूर्व पश्चिम राजमार्गमा राखिएको छ ।
चाडपर्वको बेला स्थानीय र यात्रुहरुको चापपनि बढी हुने कुरालाई मध्यनजर गर्दै नगरपालिकाले थन्किएको घुम्ती शौचालय सञ्चालन गरेको जनाउंदै यसलाई थप व्यवस्थित गर्दे निरन्तरता दिने बताईएको छ ।
जिल्लाकै प्रमुख बजारको रुपमा रहेको चन्द्रनिगाहपुरमा दैनिक हजारौको संख्यामा सवारीसाधन र यात्रुहरुको ओहोरदोहोर हुने गरेको छ । यात्रुहरुको यात्रुहरुको खाजा तथा खाना खाने एउटा प्रमुख गन्तव्यको रुपमा रहेको चन्द्रनिगाहपुरमा सार्वजनिक शौचालय नहुंदा उनीहरु होटल तथा सर्वसाधारणको घरको भित्ताहरुमा गएर शौच गर्न बाध्य भएका थिए ।
होटल सञ्चालकहरुले पनि केही खानेकुरा खान बसेपछि मात्र शौचालय जान दिने गरेको यात्रुहरुको गुनासो रहेको छ । मुख्य व्यपारिक केन्द्र भएकोले यंहा नगरभित्रका नभएर जिल्लाका विभिन्न स्थानका मानिसहरु समेत किनमेल तथा विभिन्न सरकारी कार्यालयहरुमा सेवा लिनका लागि आउने गरेका छन् ।
चन्द्रनिगाहपुरमा आउने यात्रु तथा बटुवाहरुलाई शौच गर्न होटल तथा अन्यन्त्र क्षेत्रमा जानुपर्ने बाध्यता अन्त्य गर्न भनेर ल्याईएका घुम्ती शौचालयहरु प्रयोगविहिन भएर थन्किएपछि सर्वसाधारणहरु भने स्थानीय जनप्रतिनिधिहरुसंग रुष्ट बनिरहेका थिए । सार्वजनिक शौचालयका लागि पायक पर्ने स्थान र जग्गा नभएको भन्दै नगरपालिकाले विकल्पको रुपमा घुम्ती शौचालय खरिद गरेको थियो ।
एउटा घुम्ती शौचालय सञ्चालनमा आएपनि अर्को चन्द्रपुर नगरपालिका ६ स्थित रहेको शेरबहादुर दर्लामी स्मृति खेल मैदानमा वेवारिसे अवस्थामा रहेको छ । लामो समय एकै स्थानमा राखिएका कारण ती शौचालयहरुका पार्टपुर्जामा खिया लाग्नुका साथै पानी ट्याकी समेत चुहिन थालेको छ । लामो समयसम्म वेवारिसे अवस्थामा राखिएको उक्त शौचालयको त एउटा चक्कानै गायब भएको अवस्था रहेको छ ।
एउटा घुम्ती शौचालय सञ्चालनमा आएपनि अर्को लाई चाडै मर्मत सम्भार गरी सञ्चालनमा ल्याउने नगरप्रमुख संजय काफ्लेले दाबी गरे । उनले नगरलाई स्वच्छ र सफा सुन्दर राख्न आफु लागिपरेको बताउंदै नगरबासीको हितमा नगरपालिका काम गरिरहने दाबी समेत गर्नुभयो ।
















