निजगढ,निजगढ नगरपालिकाकाबाट सरुवा हुनुभएका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीको मन्त्रालयको निर्णय उल्टाउदै फेरि निजगढमा नै फर्किनुभएको छ ।

रौतहटको गौरबाट २०७७ साल फागुन ७ गते सरुवा भएर आउनुभएका कार्कीको यो अवधिमा चौथो पटक निजगढमा थमौति भएको हो । यसअघि २ पटकसम्म जिल्ला समन्वय समिति सिन्धुलीमा सरुवा हुनुभएका कार्कीलाई पछिल्लो पटक गत साउन ११ गते संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवस्तरीय निर्णयबाट बाराको पचरौता नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरिएको थियो । यसबीचमा एकपटक कार्कीको भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तरगत पनि सरुवा भएको थियो । पछिल्लो पटक सरुवा भएको ४ दिनपछि नैै कार्कीको आइतवार फेरि निजगढमा नै थमैति भएको हो ।

प्रशासकीय अधिकृत कार्कीको थमौति भएको सूचना पाएपछि नगरपालिकाका नगर प्रमुख सुरत पुरीले कार्यालयमा हाजिरी गराउन नसक्ने बेहोराको पत्र सोमवार मन्त्रालयमा पठाउनुभएको छ । ‘निर्वाचित भएर आएदेखि नै नगरपालिकाको कामकाजमा असहयोग गरेकाले अधिकृत कार्कीको सरुवाको लागि मन्त्रालयमा अनुरोध गरिएको थियो, नगरप्रमुख पुरीले भन्नुभयो, फेरि थमौति गरिएको भन्न्ने खबर सुनिएको छ, तर उनलाई कार्यालय हाजिर गराएर कामकाजमा लगाउन सकिदैनं ।’ उहाँले जनप्रतिनिधिहरुलाई असहयोग गर्ने हाकिमलाई राखेर काम गर्न नसकिने बताउनुभएको हो ।

मन्त्रालयले कार्कीको स्थानमा निजगढमा पाइनुभएका मकवानपुरको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले गत शुक्रवार हाजिर गरेर कामकाजसमेत थालिसक्नुभएको छ । कार्कीलाई फेरि निजगढ पठाएपछि पुरीलाई भने अब मन्त्रालयमा नै तानिएको छ ।

यसअघि पनि मन्त्रालयबाट पटकपटक सरुवा हुनुभएका कार्कीको पटकपटकको थमैतिलाई स्थानीयले अस्वभाविक मानेका छन । प्रमुख प्रशासकीय अधिकृत कार्कीले आफ्नै रुचीमा सरुवा थमौति गरेको र उहाँले निजगढमा नै बस्न खोज्नु शंकाको विषय भएको भन्दै स्थानीय बलराम तिमल्सिनाले यस विषयमा अधिकृत कार्कीले स्थानीयलाई जवाफ दिनुपर्र्ने बताउनुभएको छ ।

निजगढमा हुदै आएको विद्युत अनियमितताको अन्त्य गर्न छलफल

निजगढ,निजगढ नगरपालिका क्षेत्रमा अवरुद्ध हुदै आएको विद्युत आपूर्तिलाई सुचारु पार्न सोमवार निजगढ नगरपलिकामा छलफल कार्यक्रमको आयोजना गरिएको छ ।

निजगढ नगरपालिकाका प्रमुख सुरत पुरीको विशेष पलहलमा भएको सो छलफल कार्यक्रममा विद्युत प्रधिकरण सिमरा वितरण केन्द्रका इन्जिनियर रामनारायण साह, सिमरा वितरण केन्द्रका निमित्त प्रमुख उद्धव घिमिरे, प्राधिकरण निजगढ उपवितरण केन्द्रका प्रमुख नरेन्द्र मण्डल, उद्योग बाणिज्य संघ निजगढका अध्यक्ष दिपेन्द्र श्रेष्ठ,, वडा अध्यक्षहरु मंगले लोप्चन, गोकुल तिमल्सिना, विशन सापकोटा, घनश्याम तिमल्सिना, टेकबहादुर लामा, रामचन्द्र कटुवाल, सूर्य घलानलगायत स्थानीय व्यवसायी र संचारकर्मीहरुको पनि उपस्थिति रहेको थियो ।

छलफलमा निजगढ क्षेत्रमा हाल भइरहेको विद्युत आपूर्तिको समस्या हल गर्न विद्युत प्राधिकरणले तत्कालिनरुपमा आन्तरिक व्यवस्थापनलाई चुस्त पार्ने, चपुर– निजगढ ३३ केभी प्रशारण लाइनको झाडी र ढल्न लागेका रुखहरुलाई व्यवस्थापन गर्ने र लामो समयसम्म विद्युत अवरुद्ध हुने भएको अवस्थामा विद्युत प्राधिकरणले उपभोक्ताहरुलाई जानकारी दिने निर्णय गरेको छ ।

त्यसैगरी निजगढको विद्युत आपूर्ति व्यवस्थालाई भरपर्दो र दीगो पार्न हाल चपुरबाट गरिदै आएको आपूर्तिको विकल्पमा बाराको पिलुवा सबस्टेशनबाट मधुवन जाने सडकसम्म भूमिगत तार बिछ्याएर आपूर्ति व्यवस्था मिलाउने तथा निर्माणधिन ४०० केभी वा १३२ केभी प्रशारण लाइनबाट सिधै विद्युत झार्ने गरी निजगढमा सबस्टेशन निर्माण गर्न नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालयमा अनुरोध गर्ने निर्णय भएको निजगढ नगरपालिकाका नगर प्रमुख पुरीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here