नरेश गुप्ता

बरियारपुर,कलैया उपमहानगरपालिकाको नगरसभा शुक्रवार सम्पन्न भएको छ ।

कलैया उपमहानगरपालिकाको सभाहलमा आर्थिक वर्ष ०७९÷०८० को नीति तथा कार्यक्रमको लागि १ अर्ब ४९ करोड ३१ लाख ८८ हजार बराबरको अनुमानित बजेट सार्वजनिक गरिएको हो । उपमहानगरपालिकाकी उपप्रमुख रौसण प्रविणले आर्थिक वर्ष ०७९÷०८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नुभएको थियो ।

उपप्रमुखको आदेशअनुसार प्रमुख प्रशासकीय अधिकृत नाथु साहले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आर्थिक वर्ष ०७९÷०८० को समानीकरण अनुदान ३१ करोड १५ लाख, कार्यालय पुजिगततर्फ १३ करोड ९१ लाख ५० हजार, ससर्त अनुदान चालूतर्फ ४८ करोड ८९ लाख, राजश्व बाँडफाँड संघको १९ करोड २७ लाख ९ हजार, आन्तरिक आम्दानी ८ करोड ८२ लाख ५ हजार अनुमान गरिएको छ ।

त्यसैगरी चालूतर्फ प्रदेश सरकारबाट ४ करोड ८५ लाख २५ हजार गरि चालुतर्फ १ अरब ४९ करोड ३१ लाख ८८ हजार अनुमान गरिएको छ । नगर सभामा उपप्रमुख रौशण प्रविणले नीति तथा कार्यक्रम र बजेटमा नयाँ परिस्थितिले सृजना गरेको चुनौतिको सामना गर्ने र सम्भावित अवसरलाई उपयोग गर्नेतर्फ केन्द्रित हुने बताउनुभयो ।

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएकोले संघ, प्रदेश र स्थानीय तीन वटै तहले संविधानबाट प्राप्त अधिकारको प्रयोग गर्दै मुलुकमा दिगो शान्ति, सुशासन, विकास र सवृद्धिको आंकक्षा पूरा गर्न प्रतिबद्ध तीन वटै सरकार लागि पर्दै आएको बताउनुभयो ।

नगर सभाको उद्धाटन गर्दै नगर प्रमुख बिनोद साहले कलैया उपमहानगरपालिकाको बिनियोजन ऐन २०७९ ब्यवस्था भएको जानकारी दिनुभयो । कलैया उपमहानगरपालिकाको आर्थिक वर्ष ०७९÷०८० को सेवा र कार्यहरुको लागि संचित कोषबाट रकम खर्च गर्ने अधिकार दिन र रकम बिनियोजन गर्न बान्छनीय भएकोले नेपालको संबिधानको धारा २२९ को उपधारा २ तथा स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ६९ को उपदफा ४ बमोजिम कलैया उपमहानगरपालिकाको नगर सभाले ऐन बनाएको र सोे ऐन तुरुन्तै लागू हुने समेत मेयर साहले जानकारी दिनुभयो ।

कलैया उपमहानगरपालिकाको लागि शिक्षा, स्वास्थ्य र कृषिमा अमुल परिवर्तन ल्याउने बताउदै मेयर साहले कक्षा १ देखि १० सम्म अंग्रेजी माध्यमबाट पठनपाठन अनिवार्य गरिने पनि बताउनुभयो । कलैया उपमहानगरपालिका वडा नम्बर १ स्थित श्री ३ चन्द्र माध्यमिक विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गरिने पनि उहाँले बताउनुभयो । नगर सभामा बिशेष व्यक्तिहरुलाई सम्मानित पनि गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here