नरेश गुप्ता

बरियारपुर,१५औं गणतन्त्र दिवसको अवसर पारेर बाराको ऐतिहासिक नगरी सिम्रौनगढ नगरपालिकाले नगरबासीको सुविधाको लागि आइतवारबाट निशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ ।

गणतन्त्र दिवसको अवसरमा सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरीप्रसाद कलवारले जनतासंग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्यप्रति संवेदनशील भएर एम्बुलेनस सेवा सुरु गरेको बताउनुभयो । नगर प्रमुख कलवारले आइतवार सिम्रौनगढ नगर अस्पतालको निरीक्षण पनि गर्नु भएको थियो ।

गणतन्त्र दिवसको उपलक्ष्यमा नगरप्रमुख कलवारले मधेस आन्दोलनमा सहादत प्राप्त वीर सहिदहरुको फोटोमा अबिर माला अर्पण गर्नुभएको थियो । २०६३ सालको जनआन्दोलनपछि ०६५ जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा भएको स्मरण गर्दै नगरप्रमुख साहले सहिदहरुप्रति श्रद्धाञ्जली पनि व्यक्त गर्नुभएको थियो ।

ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको सिम्रौनगढ नगर क्षेत्रको विकास र समृद्धिको लागि जनताको मतबाट निर्वाचित जनप्रतिनिधिले जनताको सेवा गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

त्यसैगरी गणतन्त्र दिवसमा जिल्लाको देवताल गाउँपालिकाको कार्यालय पिप्राढीले पनि स्थानीय बासिन्दाको शौचालय सरसफाइको लागि निःशुल्क रुपमा गाउँपालिकाको सेफ्टी ट्याङ्की प्रयोग गरिने गापा अध्यक्ष उदयचन्द यादवले घोषणा गर्नुभयो ।

गापा अध्यक्ष यादवले गणतन्त्र दिवसमा जनआन्दोलन र मधेस अन्दोलनका सहिदहरुप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

Leave a Reply