निजगढ,निजगढमा नागरिक आरोग्य सेवा केन्द्रको उद्धाटन भएको छ । निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले एक कार्यक्रमबीच सो आरोग्य सेवा केन्द्रको ब्यानर खोलेर बुधवार उद्धाटन गर्नुभएको हो ।प्रदेश सरकारको सहयोगमा आयुर्वेदिक पद्दतिको उपचार सेवा प्रदान गर्ने सो केन्द्र हाल निजगढ नगरपालिका वडा नम्बर ७ को वडा कार्यालय भवनमा संचालन हुने छ । उद्धाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पुरीले सबै किसिमको स्वास्थ्य सेवा प्राप्त गर्न पाउनु जनताको अधिकार भएको बताउनुभएको छ । उहाँले आयुर्वेदिक उपचार पद्दति कम खर्चिलो र प्रभावकारी उपचार पद्धति भएको पनि बताउनुभयो ।

कार्यक्रममा निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग, वडा नम्बर १२ का वडा अध्यक्ष ज्ञानबहादुर गोले, सेवा केन्द्र प्रमुख पुनिता केशरीलगायतले बोल्नुभएको थियो ।प्रादेशिक आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा केन्द्र कलैयाको युनिटको रुपमा निजगढमा आरोग्य सेवा केन्द्र संचालनमा आएको हो । केन्द्रबाट तत्कालको लागि २ जना स्वास्थ्यकर्मीमार्फत आयुर्वेदिक पद्दतिबाट बिरामीहरुको रोग निदान र उपचार गरिने प्रादेशिक आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा केन्द्र कलैयाका सूचना अधिकारी सहदेव पण्डितले जानकारी दिनुुभयो ।मधेस प्रदेश सरकारले चालू आर्थिक वर्षमा बाराका ७ वटा पालिकामा केन्द्र संचालन गर्न भनेर गरेको निर्णय अनुसार निजगढ आयुर्वेदिक उपचार सेवा संचालनमा आएको हो ।

प्रदेश सरकारले बाराको निजगढसहित जीतपुरसिमरा उपमहानगरपालिका, कोल्हबी, पचरौता नगरपालिका र फेटा, विश्रामपुर र करैयामाई गाउँपालिकामा केन्द्र संचालन गर्ने निर्णय गरेको थियो । जसमध्ये फेटा र विश्रामपुर र जीतपुरसिमरामा यसअघि नै केन्द्रको उद्धाटन भइसकेको छ । जिल्लाको सिम्रौनगढ, आदर्शकोतवाल र कलैयामा नेपाल सरकारको सहयोगमा यसअघि आयुर्वेदिक सेवा केन्द्र संचालनमा रहेको छ ।

त्यसैगरी जीतपुरसिमरा उपमहानगरपालिकाले पनि निःशुल्क आयुर्वेद उपचार सेवा सुरु गरेको छ ।मधेस प्रदेश सरकार प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नागरिक आरोग्य सेवा केन्द्रले जीतपुर सिमरामा आयुर्वेद उपचार सेवा सुरु गरेको छ । आयुर्वेद सेवा अन्तर्गत खानपान, आहार विहार तथा अध्यात्मसम्वन्धि जानकारी गराउनुको साथै नसर्ने रोगहरू मधुमेह, थाईराईड, उच्च रक्तचाप, श्वासप्रश्वास सम्वन्धि रोगहरूको न्यूनीकरण गर्न निःशुल्क स्वास्थ्य सल्लाह तथा उपचार सेवा दिने आयुर्वेद चिकित्सक डा.पुनिता केशरीले जनाउनुभएको छ ।मधेस प्रदेश सरकार अन्तर्गत संचालित यो कार्यक्रम बाराका प्रत्येक पालिकामा एउटा शाखा खोल्ने र सबै सेवा निःशुल्क दिने लक्ष्य लिएर अहिलेसम्म ५ वटा पालिकामा काम गरिरहेको डा.केशरीले बताउनुभयो । साथै स्तनपान गराउने आमाहरूको लागि दुधवर्धक औषधीहरू निःशुल्क वितरण गर्ने, नसर्ने रोगको समस्या बढ्दै गएपछि आयुर्वेद उपचार सेवामार्फत आहार विहार, रहनसहन, व्यायामको माध्यमबाट सेवा दिने जनाइएको छ । कार्यक्रमको उद्घाटन गर्दै जीतपुरसिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेलले नागरिक आरोग्य सेवा केन्द्रले सुरु गरेको आयुर्वेद सेवा सञ्चालनका लागि उपमहानगर सहकार्य गर्न तयार रहेको बताउनुभएको छ ।

‘जीतपुरसिमरा अस्पतालसँगको सहकार्य र समन्वयमा आयुर्वेद उपचार सेवा अगाडी बढाउन तयार रहेको बताउदै, केही कार्यक्रमहरू प्रदेश, सङ्घहरूले स्थानीय तहमा ल्याउने र छोटो समय चलाएर हराउँदा सबै स्थानीय तहको टाउकोमा आउने परिपाटी रहेको गुनासो समेत नगरप्रमुख पौडेलले बताउनुभयो । प्रदेश सरकारले सञ्चालन गरेको आयुर्वेद उपचार सेवाको लागि स्वास्थ्य जनशक्ति र उपकरणसहित जिम्मा लगाए उपमहानगरले आफैँले भविष्यमा आयुर्वेद सेवा चलाउन सक्ने नगरप्रमुख पौडेलले बताउनुभयो ।बाराको कलैया अस्पतालसहित जीतपुर सिमरा, फेटा, विश्रामपुर, करैयामाई गाउँपालिकामा यो सेवा सुरु भएको छ भने अगामी वर्षदेखि निजगढ, पचरौता र कोल्हवी नगरपालिकामा सेवा गर्ने आयुर्वेद चिकित्सक डा. पुनिता केशरीले बताउनुभयो ।

Leave a Reply