कृष्ण मोहन साह
सेढवा,पर्साको जीराभवानी र सखुवाप्रसौनी गाउँपालिकामा उपाध्यक्ष र वडा अध्यक्षको शपथग्रहण कार्यक्रमको आयोजना गरिएको छ ।
जिराभवानी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष अनोज चौधरीले सोमवार पदभार ग्रहण गरेका छन् । गाउँ कार्यपालिकाको कार्यालय सेढवामा गापाका कर्मचारीहरुद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रमको अवसर पारेर अध्यक्ष चौधरीले पदभार ग्रहण गर्नुभएको हो ।
सोमबार वीरगन्जमा आयोजित एक कार्यक्रममा पद तथा गोपनियताको सपथ लिएलगत्तै गापा कार्यालयमा पुग्नुभएका अध्यक्ष चौधरीले पदभार ग्रहण गर्दै गाउँपालिकालाई भ्रष्टाचार मुक्त गर्ने र भ्रष्टाचार गर्ने कर्मचारीलाई ठाउँको ठाउँमा कारबाही गर्ने चेतावनी समेत दिनुभयो ।
यस्तै जिराभवानी गाउँपालिकाको विकासको लागि सबै पक्षलाई समेटेर अघि बढ्ने विचार समेत व्यक्त गर्नुभयो । यस्तै जिराभवानी गापाका नवनिर्वाचित उपाध्यक्ष रेखा चौधरी, वडा अध्यक्ष एवम् वडा सदस्यहरुले पनि पद तथा गोपनीयताको सपथ लिएका छन् । नवनिर्वाचित गापा अध्यक्ष चौधरी उपाध्यक्ष लगायत ५ वटै वडाका अध्यक्ष एवम् सदस्यहरुलाई गाउँपालिका कार्यालयमा सपथ ग्रहण गराएका हुन् ।
कार्यक्रम गाउँपालिका अध्यक्ष अनोज चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले राख्नु भएको थियो भने कार्यक्रमको सन्चालन गाउँपालिकाका कर्मचारी जितेन्द्र मिश्राले गर्नुभएको थियो ।
त्यसैगरी पर्साको सखुवाप्रसौनी गाउँपालिका कार्यालयमा नवनिर्वाचित जनप्रतिनिधिहरुको सपथग्रहण तथा स्वागत कार्यक्रम आयोजना गरिएको छ । गाउँपालिका अध्यक्ष यशवन्त यादवको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा सखुवाप्रसौनी गाउँपालिका निर्वाचन कार्यालयका निर्वाचन अधिकृत डा. सुर्य पौडेल र सखुवाप्रसौनी गाउँपालिका निर्वाचन आयोगका सहायक अधिकृत तिर्थराज शर्माको प्रमुख अतिथिको रुपमा उपस्थित रहनुभएको थियो ।
कार्यक्रममा वडा नम्बर १ का नवनिर्वाचित अध्यक्ष बासुदेव महतो थारु, वडा २ का अध्यक्ष चिरञ्जीवी महतो थारु, वडा ३ का निर्वाचित अध्यक्ष मोजाली अन्सारी, वडा ४ का अध्यक्ष मम्मद आरिफ अन्सारी, वडा ५ का अध्यक्ष अशेश्वर यादव र वडा ६ का निर्वाचित अध्यक्ष मुन्ना कमकर र गाउँपालिका उपाध्यक्ष शर्मिला बिष्ट एवम् वडा सदस्यलाई सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यशवन्त यादवले शपथ गराउनु भएको थियो ।
कार्यक्रममा ईलाका प्रहरी कार्यलय पटेर्वासुगौलीका प्रहरी निरीक्षक किशोर आचार्य, बुद्धिजीवी, कार्यालयका कर्मचारी, सन्चारकर्मीलगाएतको उपस्तिथि रहेको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई टीका, माला, दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष यादवले निर्वाचन अधिकृत डा.सुर्य पौडेल र सहायक अधिकृत तिर्थराज शर्मा र सखुवाप्रसौनी गाउँपालिका प्रशासकीय अधिकृत देवनाथ साहलाई पनि टिका, माला र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष यादवले कार्यालयका कर्मचारीहरुलाई कुनै टिम नबनाएर काम गर्न र कुनै पनि पार्टीगत टिकाटिप्पणी नगर्न निर्देशन दिनुभएको थियो । सोही कार्याक्रममा बोल्दै अध्यक्ष यादबले पन्चगावास्थित पुरानो सैनिक क्याम्पमा गाउँपाकिला कार्यालय भवन बनाउने प्रतिवद्धता गर्दै गाउँपालिकालाई भ्रष्टाचार मुक्त बनाउने पनि बताउनुभयो ।