दुष्यन्त चौधरी
बारा,नेपाल परिवार दल बाराका अध्यक्ष रामचन्द्रप्रसाद चौधरीसहित विभिन्न पार्टीका सयौं नेता तथा कार्यकार्ता नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्।
चौधरीले केही दिनअघि सामाजिक सन्जाल फेसबुकमार्फत आफूले नेपाल परिवार दलको अध्यक्ष पदबाट राजिनामा दिएको घोषणा गर्नुभएको थियो । तर उहाँले कुन पार्टीमा प्रवेश गर्ने भन्ने बारेमा भने केही उल्लेख गर्नुभएको थिएन ।
आइतबार एक कार्यक्रमको आयोजानामा चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका बारेमा हालै नेपाली काँग्रेस परित्याग गरेकी नेतृ राधा चौधरीले जानकारी दिनुभयो । नेपाल परिवार दल बाराका अध्यक्ष चौधरीले उक्त पार्टी परित्याग गरेपछि उहाँलाई नागरिक उन्मुक्ति पार्टी बारा जिल्ला अध्यक्षको जिम्मेवारी दिइएको छ ।
चौधरीसंगै उन्मुक्ति पार्टी प्रवेश गर्नेमा पार्टीका नेता, कार्यकर्ता तथा युवाहरु रहेको जनाइएको छ । यसअघि उनीहरु नेपाल परिवार दलका केन्द्रीय अध्यक्ष एकनाथ ढकालको विश्वास पात्रका रुपमा चिनिन्थे।
चौधरीको अध्यक्षतामा एक सचिव, एक कोषाध्यक्ष सहित १९ सदस्यी जिल्ला कार्यसमिति बनाइएको नेतृ चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार बारामा नागरिक उन्मुक्ति पार्टीप्रति अकार्षणसंगै जनाधार पनि बढ्दै गएको छ । उहाँले आफूहरुलाई जनताको साथ र समर्थन रहेको र आगामी निर्वाचनमा जनताको अभिमत पार्टीको पक्षमा देखिने छ ।