कृष्णउदास खनाल

वीरगन्ज, पुस ३० गते नारायणी एफएम वीरगन्जमा बिहानको डिउटी थियो । बिहान ११ बजेसम्म डिउटी सकेर खानापछि म सार्वजनिक बस नै चढेर हेटौंडा आइपुगेँ ।

हेटौंडामा मेरो परिवारका सदस्यहरु बस्ने गर्दछन् । मेरो भने कार्य क्षेत्र वीरगन्ज भएकाले शुक्रबारको डिउटी पुरा गरेर घर फर्किएको थिएँ म । हेटौंडा नजिक म चढेको बसले एउटा अटोलाई सामान्य ठक्कर दिएपछि विवाद भयो र केहीबेर बस रोकिएपछि बस प्रहरीको आदेशमा बस गुड्यो म पनि घरमा आइपुगेँ । मेरो स्वास्थ्य अवस्था सामान्य थियो । ओमीक्रोनको बारेमा म आफैले रेडियो र पत्रपत्रिकाबाट धेरै स्रोताहरुलाई जानकारी गराउदै आएका कारण मलाई यसबारेमा जानकारी हुनु स्वाभाविक नै थियो । तर मलाई पनि ओमीक्रोन हुने खतरा भने उत्तिकै थियो किनभने पेसाले पत्रकार भएपछि यो जोखिम स्वभाविक नै हो ।

माघ २ गते घरमा सामान्य पूजाको कार्यक्रम राखेको थिएँ । त्यसका कारण माघ १ गते नै घरमा एकखालको जमघट थियो । आफन्तहरु अझै परिवारकै सदस्य भन्दा पनि हुन्छ उहाँहरु पनि आउनु भएको थियो । उहाँहरु यसै पनि उमेरले त पाको नै हुनुभयो । मलाई कोरोना भए त जित्न सकुँला तर आमाहरु (आमा र सासु आमा), ठूलो बुवा र बालबच्चाहरुलाई लाग्यो भने त गाह्रो होला भनेर सोच्दै पूजाको तयारीमा जुट्दै थिएँ । २ गते बिहानै पत्नी सीताको आग्रहमा बिहानै करिब ५ बजेतिर नै उठेर घरको पूजा गर्ने ठाउँ मिलाउन लाग्यौं ।

सोही समयमा अकष्मात् मलाई असहज भयो र निकै जाडो भयो । गरुंगा सामान तह लगाएपछि मैले श्रीमती ज्यूलाई मलाई त गाहे भयो तिमी आफै अरु काम गर है भन्दै फेरि सुतेंँ । निन्द्रा यस्तो लाग्यो कि उठ्न मन लागेन । क्षणभरमा शरीरमा के के भयो जस्तो भयो र धेरै गाहे बनाउदै गयो । ८ बजेबाट पूजा शुरु गर्नुपर्ने भएकाले म तयारी हुनुपर्ने थियो । बल्लबल्ल ७ ः३० तिर उठेर नुहाएर तयार भएँ । मनमा कोरोनाको चिसो पसेको त थियो नै तर होइन होला भन्ने लाग्यो । पूजा अपरान्हतिर सकियो । केही छिमेकी बाहेक अरुलाई खबर थिएनल त्यसैले भीडभाड पनि थिएन ।

म अलि टाढै बसेँ । पूजाकै दिनमा केही आफन्त गए केही भोलिपल्ट गए । भोलिपल्ट झन् मलाइ अप्ठेरो भयो र रुघा र खोकी एकदमै लाग्यो । अनि घरमा मलाई कोरोना भयो भनें तर घरका मान्छेले पत्याएनन् । खासै सावधानी भइएन । अनि ४ गते बिहानै हेटौंडाको गोरक्षश्र मन्दिरमा जहाँ स्वाब संकलन हुने गर्दछ त्यहाँ पुगें । हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य निरीक्षक भोला चौंलागाई आफै स्वाब संकलन गर्दै हुनुहुदो रहेछ । उहाँलाई मलाई समस्या भयो सर कोरोना चेक गर्न पर्यो भनें । उहाँले लाइनबाट आउनु भन्नुभयो । त्यसैअनुसार गरें । स्वाब दिएँ । घरमा आएर केही सावधानी अपनाए परिवारलाई जोगाउनको लागि भने पनि ।

घरमा त्यत्तिबेला मेरी श्रीमती सहित छोराहरु र ६५ बर्षीया आमा हुनुहुन्थ्यो । आमालाई लाग्छ कि भनेर पनि डर लाग्यो । ४ गते बेलुका आउन पर्ने रिपोर्ट आएन । ५ गते राति बल्ल भोला चौलागाईलाई मैले फोन गर्दा उहाँले पोजेटिभ भएको जानकारी दिनुभयो । करिब ८ बजेतिर । मैले फोन गरेपछि जानकारी पाए नत्र खबर थिएन ।

स्वास्थ्य मन्त्री विरोध खतिवडाको गृह जिल्लाको कोरोना परीक्षण अनि लापारबाही वास्तवमा उदेक लाग्दो थियो । हेटौंडा त बागमति प्रदेशको राजधानी हो तैपनि हालत यस्तो छ । कसलाई के भन्ने अनि आइसोलेशनमा बस्ने पर्यो । सम्बन्ध नजिक भएका नाताले वीरगन्जको नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहलाई आफू कोभिड संक्रमित भएको जानकारी गराएका रहेछन र उहाँले चार प्रकारमा औषधी खान सुझाउदै लेखिदिनुभयो ।

भोलिपल्ट ६ गते डा. सिंहले लेखिदिनु भएको दबाइ लिनका लागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८मा रहेको स्वास्थ्य चौकीमा गएँ । स्वास्थ्य चौकीमा नै किन गए भने अहिले कोरोना संक्रमित भएपछि त्यहाँका स्वास्थ्यकर्मीको व्यवहार के हुँदो रहेछ भन्ने बुझनु थियो मलाई । स्वास्थ्यमा समस्या थियो तर जटिल थिएन होला कि भन्ने विश्वास चैं थियो । त्यही दिनपछि श्रीमती पनि संक्रमित भइन् । लक्षण देखियो तर उनको परीक्षण भने भएन गरिएन ।

स्वास्थ्य चौकीमा जांदा संयोगले त्यो दिन खोप लगाउने दिन परेको रहेछ । मैले स्वास्थ्यकर्मीलाई आफू संक्रमित भएको र केही दबाइ आवश्यक रहेको बताएँ । तर उनीहरुले तत्काल औषधी दिन नभ्याउने कुरा गरे । मैले पनि म टाढाबाट आएकाले औषधी दिन फेरि आउन नसक्ने बताएपछि बल्लबल्ल अलि जुनियर महिला स्वास्थ्यकर्मी झर्कीफर्की गर्दै सिनियर महिला स्वास्थ्यकर्मीकोमा गइन् उनको पछिपछि म लागेँ । सिनियर स्वास्थ्यकर्मीको कोठा अर्को थियो अनि उनलाई पनि मैले जानकारी गराएपछि डा. सिंहले लेखिदिनुभएको औषधी उनले अस्वीकार गर्दै अर्को दबाइ लेखिदिइन् र त्यही खान भनिन् । उनी पनि झर्कीफर्की गर्दै थिइन् । उनीहरुले म कोरोना संक्रमित भनेर हेंला त गरेका थिएनन् तर व्यवहार भने एकदमै रुखो थियो । सायद भीड थियो त्यही भएर होला मैले यही बुझें अनि जुनियर स्वास्थ्यकर्मीलाई दबाइ दिन निर्देशन भए अनुसार उनी स्टोर रुममा छिरिन् र म पनि छिरें अनि उनले मलाई थप भीटामिन डी र सी दिइन् अनि भन्दै थिइन् यो लुकाउनु । मलाइ खाने तरिका राम्रोसंग उनले बताइनन् । उनको व्यवहार यस्तो थियो कि मानौं दबाइ छैन तर पनि मैले लुकाएर दिएको छु । यद्यपि उनको र मेरो कुनै परिचय छैन । म एक सेवाग्राही उनी स्वास्थ्यकर्मी । मनमा लाग्यो किन लुकाउन पर्दछ र सरकारले नै दिने व्यवस्था गरेको औषधी, यस्तै यस्तै कुरा मनमा खेलाउदै म घरमा फर्किए अनि दबाइ खांदै आइसोलेशनमा बसें । समस्या बिस्तारै सुधार हुदै गयो । एकदिन योबीचमा कुनै स्वस्थ्यकर्मीले फलो गरेनन् अनि चासो पनि दिएनन् ।

सात दिन आइसोलेनमा बसेँ । डा. सिंहले भने पाँचदिन बस्न सुझाव दिनुभएको थियो । थप दुई दिन बसें । श्रीमती ज्यूलाई पनि लक्षण देखिएकाले सावधानी अपनाइयो । फेरि कोरोना परीक्षण गर्न पर्देन भनियो । अब निको भएको आधार भने लक्षण नदेखिएपछि मान्नु पर्ने रहेछ शायद यही सोच्नु पर्यो । अनि मलाई ओमीक्रोन नै भएको थियो । लक्षण त्यसैको थियो ।

अन्तिममा मेरो अनुभव यहाँहरुलाई बताइरहदा मुख्य कुरा खोपका कारणले हामीलाई ओमक्रोन जित्न सहज भयो भन्ने लाग्छ । हामी दुबैजनाले कोरोनाको दुबै डोज खोप लगाएका थियौं र त्यही भएर हामीलाई धेरै गाहे भएन । त्यसैले जसले खोप लगाउनु भएको छैन लगाउन आवश्यक छ भन्ने लाग्छ र परीक्षण पनि गर्न आवश्यक छ । सामान्य रुघाखोकी र कोरोना फरक कुरा भएकाले कोरोना पुष्टि भएमा डाक्टरहरुले चलाउने दबाइ नै फरक हुने भएकाले परीक्षण आवश्यक छ भन्ने लाग्छ । सबैमा सुस्वास्थ्यको कामना ।

Leave a Reply