वीरगन्ज,पर्सामा फेरि गाँजा खेती फस्टाएको समाचारहरु सार्वजनिक भएपछि प्रहरीले गाँजा खेती नष्ट गर्ने अभियानलाई तीव्रता दिएको छ ।

यसैक्रममा शनिबार मात्रै प्रहरीले पर्साको ठोरी गाँउपालिका वडा नम्बर ३ र ४ का विभिन्न स्थानमा अवैध रुपमा लगाइएको गाँजा खेती नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले सुर्ती खेती गरिएको खेतमा रोपिएका करिब २ लाख गाँजाको बोट फाँडेर नष्ट गरेको हो ।

ठोरी गाँपालिका वडा नम्बर ३ र ४ स्थित ८ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती शनिबार नष्ट गरिएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताउनुभयो । यसअघि गत कात्तिक ३० गते पनि ठोरी ३ र ४ मै प्रहरीले ११ बिघा जग्गामा लगाइएको करिब २ लाख २० हजार वटा गाजाको बोट फाँडेर नष्ट गरेको थियो ।

पर्सामा फेरि गाँजा खेती गर्न थालिएको सूचना प्राप्त भएपछि प्रहरीले जिल्लाभर नै अभियान थालेर गाँजा खेती नष्ट गर्न थालेको प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो । गाँजा खेती गरिएको स्थान पत्ता लगाउन पर्सा प्रहरीले गाँउगाँउमा सुराकी नै खटाइसकेको भन्दै प्रहरी उपरीक्षक पाण्डेले गाँजा खेतीलाई विस्थापित गर्न जिल्लाबासीको सहयोग आवश्यक रहेको बताउनुभयो ।

जिल्लाको कुनै पनि स्थानमा कसैले गाँजा रोपेको भए त्यस बारे प्रहरीलाई सूचना दिएर सहयोग गर्न पनि प्रहरी उपरीक्षक पाण्डेले अपील गर्नु भएको छ । प्रहरीले पर्सा जिल्लालाई गाँजा खेती मुक्त जिल्ला बनाउन गाँजा खेती फाड्ने अभियान थालेको भएपनि स्थानीय पालिकाका जनप्रतिनिधिहरुले भने प्रहरीलाई असहयोग गर्दा प्रहरीलाई समस्या भएको गुनासो पाण्डेले गर्नु भयो । गाँजा खेती नष्ट गर्न प्रहरी टोली गाउँ जाँदा जनप्रतिनिधिहरुले गाँजा खेती गर्ने जग्गाधनीको बारेमा जानकारी दिन नमान्दा गाँजा खेती गर्नेहरुलाई पक्राउ गरि कारबाही गर्न नसकिएको प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो ।

यस्तै गाँजा खेतीको संरक्षणमा प्रहरीको पनि संलग्नता रहेको सूचना आएकाले ग्रामीण क्षेत्रका मातहतका प्रहरी चौकी र कार्यालयका प्रहरी इन्चार्जहरुलाई आन्तरिक कारबाही गर्न पनि थालिएको प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो ।

पर्सा जिल्लामा एक दशक पहिले विस्थापित भएको गाँजा खेती अहिले भने फेरि फस्टाएको छ । दुई वर्षयता कोभिड १९ संक्रमण नियन्त्रणको लागि र लकडाउनमा जिल्लाका सुरक्षाकर्मीको ध्यान केन्द्रित भएको मौका छोपेर किसान र कारोबारीहरुले गाँजाको खेतीलाई तीव्रता दिएका हुन ।

खासगरी जिल्लाको उत्तरी भेगमा राष्ट्रिय वन र निकुन्जसंग जोडिएका गाँउहरुमा अहिले व्यापक परिमाणमा गाँजाको खेती गरिएको छ । यस्तै वन अतिक्रमण गरिएको जग्गा र खोलाको बगरमा पनि कारोबारी र किसानहरुले गाँजा रोपेका छन् ।

जिल्लाको विजयवस्ती, निर्मलवस्ती, ओडार, ब्रम्हनगर, रामनगर, सोनवर्षा, गादी, शंकरसरैया, पटेर्वासुगौली, सुवर्णपुर, मधुवन मथवल, प्रसौनीविर्ता, निचुटा लगायतका गाँउहरुमा गाँजा रोपिएको हो । एक दशकदेखि गाँजाको खेती बन्द भएका कारण पर्सामा गाँजाको बीउको अभाव भएपछि यहाका किसानहरुले मकवानपुर र धादिङका पहाडी गाँउबाट बीउ ल्याएर गाँजा रोपेका हुन् । जनप्रतिनिधि र स्थानीयले साथ दिए पर्सालाई फेरि पनि गाँजा खेती मुक्त जिल्ला बनाउन सकिने प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो ।

Leave a Reply