वीरगन्ज,वीरगन्जमा स्थापना गरिएको भोजपुरी प्रतिष्ठानको कार्यालय बिहीबारदेखि सन्चालनमा आएको छ । वीरगन्ज उपमहानगरपालिका वडा नम्बर ८ गहवास्थित रात्री माविको भवनमा स्थापना गरिएको भोजपुरी प्रतिष्ठानको कार्यालयको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले उद्घाटन गर्दै सबै भाषाको संरक्षण गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । रात्री मावि भवन छेउकै खाली जग्गामा केहि महिना पहिले भोजपुरी प्रतिष्ठानको आफ्नै भवन निर्माणका लागि शिलान्यास गरिएको थियो । तर भवन निर्माणको काम जारी रहेकाले तत्कालको लागि रात्री माविको भवनमा बिहीबारबाट कार्यालय सन्चालनमा ल्याइएको र भवन बनिसकेपछि कार्यालय आफनै भवनमा सारिने प्रतिष्ठानका अध्यक्ष उमाशंकर द्धिवेदीले जानकारी दिनुभयो ।
कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै प्रतिष्ठानका अध्यक्ष द्धिवेदीले भोजपुरी भाषाको लोकप्रियता बढ्दै गएको भएपनि नेपाल सरकारले गर्दै आएको राष्ट्रिय जनगणनामा भने भोजपुरी भाषिको संख्या घट्दो क्रममा रहेको तथ्याङक देखाउने गरिएको गुनासो गर्नुभयो । उहाँले राज्यकै तर्फबाट भोजपुरी भाषाप्रति आक्रमण भइरहेको आरोप पनि लगाउनुभयो ।
त्यसैले अहिले भइरहेको २०७८ सालको राष्ट्रिय जनगणनामा हरेक भोजपुरी भाषिले आफनो मातृभाषाको संरक्षणका लागि सशक्त रुपमा आवाज उठाउन उहाँले आग्रह पनि गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष द्धिवेदीकै अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रतिष्ठानका कार्यवाहक अध्यक्ष ध्रुब सिंह ठकुरी, वीरगन्ज महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष राजकिशोर गुप्ता, नेपाल पत्रकार महासंघका केन्दी्रय सदस्य केसी लामिछाने, पर्सा शाखा अध्यक्ष अनुप तिवारी, कलाकार कामेश्वर चौरसिया लगायतको पनि सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार रितेश त्रिपाठीले गर्नु भएको थियो ।