पोखरिया,भारतसँग सिमा जोडिएको पर्साको ग्रामीण भेगमा चोरीतस्करीका घटनामा वृद्धि भएको छ । पर्सा प्रहरीले गएका १० महिनामा साविक अवधिभन्दा ३८१ प्रतिशत बढी बरामद सामग्रीको लगत जम्मा भएको जानकारी दिएको छ । प्रहरीले पछिल्लो १० महिनाभित्र नै अवैध ढंगले चोरीतस्करी गरी नेपाल ल्याउदै गरेको ३१ करोड ९५ लाख ८६ हजार ९ सय २४ रुपैयाँ बराबरको मालवस्तु बरामद गरेको हो । जुन गत आर्थिक वर्षको १२ महिनाको भन्दा २३ करोड ५७ लाख १३ हजार ६ सय १२ रुपैयाँ बढी हो ।

पर्सा प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार समीक्षा अवधिमा गत वर्षको १२ महिनाभन्दा चालू आर्थिक वर्षको १० महिनामै ३८१ प्रतिशतले बढी अवैध मालवस्तु बरामद भएको देखिएको छ । गत वर्षभन्दा ३ सय ८१ प्रतिशत बढी लगतको मालवस्तु बरामद हुनुमा प्रहरीको इमान्दारितापूर्ण सक्रियता भएको पर्साका प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले दाबी गर्नुभयो ‌। ​प्रहरीले निष्ठापूर्वक जिम्मेवारी वहन गर्दा बरामद सामानको तथ्यांक पनि निकै बढेको उहाँको तर्क छ । ​कोरोना महामारी र राजनीतिक तानातानको अहिलेको अवस्थालाई पनि अवैध कारोबार गर्नेले मौकाको रूपमा प्रयोग गर्न खोजेको देखिएको छ । मुख्यगरी मरिच, केराउ, सवारी साधन, विद्युतीय सामान, विभिन्न मेशिन वा सवारीका पार्टपुर्जा, लत्ताकपडा, किराना तथा खाद्यान्न सामान, सुनचाँदीका गरगहना, तेल र मसला लगायत अन्य सामान बरामद हुने गरेको प्रहरीले बताएको छ ।

Leave a Reply