बरियारपुर,बाराको महागढीमाई नगरपालिका २ बरियारपुरस्थित स्वास्थ चौकीमा निशुल्क ल्याब सेवा शनिबारबाट संचालनमा आएको छ । महागढीमाई नगर प्रमुख उपेन्द्रप्रसाद यादवले ल्याब सेवाको उदघाटन गरेपछि सेवा आरम्भ भएको हो । स्वास्थ्य चौकीबाट कोभिड १९ को लक्षण देखा परेका बिरामीहरुको रुखाखोकी, ज्वरो, टाईफाड चेकजाँच गरि आवश्यकता अनुसार निशुल्क औषधि वितरण गर्न लागेको नगर प्रमुख यादवले बताउनुभयो ।
ल्याब सेवा संचालनमा आएपछि गरिब, असहाय र विपन्न वर्गलाई प्रत्यक्ष लाभ मिल्ने उहाँले बताउनुभयो । महागढीमाई नगरपालिकाभित्रका १३ वटा स्वास्थ्य केन्द्रबाट संकलन गरि ल्याइएको रगतको नमुना चेकजाँच गरि सोही अनुसारको उपचार सेवा प्रदान गर्ने आफ्नो लक्ष्य रहेको स्वास्थ शाखा प्रमुख बिजयप्रसाद कुशवाहाले बताउनुभयो । ल्याब सेवा उदघाटन कार्यक्रममा स्वास्थ्य चौकी बरियारपुरको ईन्चार्ज लालबाबु साह, अहेव सुभास बैठा, अस्पताल बिकास समितिका रामानन्द चौरसिया, ल्याब टेकिनिसियन मनिष गुप्ता, पिन्टु यादव र संचारकर्मीलगायतको सहभागिता रहेको थियो ।