रौतहट,कोरोनाको महामारीमा सक्रमितलाई सहयोग गर्नुको साटो केही जनप्रतिनिधिहरू आफैँ भागाभाग गरिरहेका बेला रौतहटका एकजना वडा अध्यक्ष भने आफैँ गाडी चलाएर धमाधम बिरामी ओसार्न व्यस्त छन । रौतहटको चन्द्रपुर नगरपालिका–२ का वडा अध्यक्ष दुत्तबहादुर थिङ्ग आफैँले एम्बुलेन्स चलाएर बिरामी ओसार्न थाल्नुभएको हो ।
ज्वरो आएर कोभिडको आशंका गरिएका बिरामीहरूलाई वडा अध्यक्ष थिङ्ग आफैँले एम्बुलेन्स चलाएर स्वाब परीक्षणको लागि स्वाब संकलन केन्द्रसम्म लैजानु भएको हो । शनिबारमात्र उहाँले वडाका करिब २० जना सर्वसाधारणलाई स्वाब परीक्षणका लागि एम्बुलेन्समा राखेर ओसार्नुभएको थियो । एम्बुलेन्सका चालकसमेत बिरामी भएपछि आफैँले बिरामी ओसारेको वडा अध्यक्ष थिङ्गले बताउनुभयो । सेवाकै लागि जनताले जिताएको हुँदा जनताको सेवा गर्न कुनै डर नमानेको वडा अध्यक्ष थिङ्ग बताउनुहुन्छ । ‘जनताको सेवा गर्छु भनेर नै चुनाब जितेर आएको हुँ, उहाँले भन्नुभयो, निर्वाचनको बेला गरेको बाचा पुरा गर्दै छु ।’ वडाबासीको सेवामा आफू कुनै पनि बेला तयार रहेको उहाँको प्रतिक्रिया छ । शनिबार उहाँले असनवा, नयाँबस्ती तथा फूलबारीका बिरामीहरूलाई स्वाब परीक्षणको लागि संकलन केन्द्रसम्म पुर्याउनुभएको थियो ।
गत वर्ष पनि कोभिड संक्रमणको महामारी फैलिएको बेलामा उहाँ यसरी नै संक्रमितको सहयोगमा सक्रिय भएर लाग्नु भएको थियो । यता, जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबारदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाको कारण रौतहट जिल्ला सुनसान छ । हालसम्म रौतहटमा पछिल्लो समय मात्रै ११ जनाले कोभिडको कारण ज्यान गुमाइसकेका छन् भने २ सय २० जनाभन्दा बढी सक्रिय संक्रमित छन । अत्यावश्यकका सवारीसाधनबाहेक सबै बन्द गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभएको छ ।