मनोज शाह
जीतपुर,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ मा निर्माण गरिएको नयाँ वडा कार्यालय भवन सोमबार एक समारोहका बीच उद्घाटन गरिएको छ ।मधेस प्रदेशका माननीय देवनारायण चौधरीले रिबन काटेर भवनको उद्घाटन गर्नुभएको हो । नव–निर्मित भवन सञ्चालनमा आएसँगै वडा नम्बर ६ का स्थानीयवासीले आफ्नै भवनबाट सेवा सुविधा पाउने भएका छन्, जसले सेवा प्रवाहलाई थप प्रभावकारी र सहज बनाउने अपेक्षा गरिएको छ ।उद्घाटन कार्यक्रममा बोल्दै उपमहानगरपालिकाका मेयर राजन पौडेलले जनताको सहज पहुँचलाई मध्यनजर गर्दै भवन निर्माण गरिएको बताउनुभयो । उहाँले स्थानीय तहको सेवा प्रवाहलाई छिटो, सरल र पारदर्शी बनाउन यस्ता पूर्वाधारले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।

त्यसैगरी, कार्यक्रममा उपमेयर भोलाप्रसाद अधिकारी, वडा नम्बर ६ का वडा अध्यक्ष क्यामुदिन अन्सारी लगायत जनप्रतिनिधि तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो ।वडा कार्यालय भवन निर्माणको ठेक्का नवीन कन्टेनरले लिएको थियो । चार वटा १२-१२ कोठा तथा एउटा ३२-१२ कोठासहितको आधुनिक संरचनामा भवन निर्माण गरिएको जनाइएको छ ।नयाँ भवन सञ्चालनमा आएसँगै सेवा प्रवाहमा सहजता आउने र स्थानीयवासीलाई प्रशासनिक कामकाजका लागि बाहिर धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास गरिएको छ ।

Leave a Reply