कलैया,प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बारा जिल्लामा झण्डै २० हजार मत बदर भएको छ । प्रभावकारी मतदाता शिक्षाको अभावमा यति धेरै संख्यामा मत बदर भएको हो ।जिल्ला निर्वाचन कार्यालय बाराका अनुसार जिल्लाभर कुल १९ हजार ७९५ मत बदर भएको हो । जिल्ला निर्वाचन अधिकारी नवीन चौधरीले क्षेत्र नम्बर १ मा ५ हजार २९६ मत बदर भएको जानकारी दिनुभयो । सो क्षेत्रमा कुल १ लाख २३ हजार ९८५ मतदाता रहेकामा ८० हजार ५८१ मत खसेको थियो । खसेको मतमध्ये ७५ हजार २८५ मत सदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा ३ हजार ७६३ मत बदर भएको छ । यस क्षेत्रमा १ लाख १३ हजार ८३९ मतदाता रहेकामा ७६ हजार ५२४ मत खसेको थियो । खसेको मतमध्ये ७२ हजार ७६१ मत सदर भएको थियो ।

निर्वाचन क्षेत्र नम्बर ३ मा ४ हजार ६९५ मत बदर भएको छ । यहाँ १ लाख १३ हजार ५२१ मतदाता रहेकामा ७५ हजार ९०० मत खसेको थियो । तीमध्ये ७१ हजार २०५ मत सदर भएको जनाइएको छ ।त्यसैगरी निर्वाचन क्षेत्र नम्बर ४ मा सबैभन्दा बढी ६ हजार ४१ मत बदर भएको तथ्यांक सार्वजनिक भएको छ । यस क्षेत्रमा १ लाख १४ हजार ४३९ मतदाता रहेकामा ८० हजार ६७८ मत खसेको थियो । खसेको मतमध्ये ७४ हजार ६३७ मत सदर भएको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ ।चारवटै निर्वाचन क्षेत्रको तथ्यांक हेर्दा निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता देखिए पनि उल्लेख्य सङ्ख्यामा मत बदर भएको देखिएको निर्वाचन कार्यालयले जनाएको छ ।

Leave a Reply