निजगढ,शान्ति, अहिंसा र मानव एकताको सन्देश विश्वभर फैलाउने उद्देश्यसहित भगवान् बुद्धको जन्मस्थल लुम्बिनीसम्मको पैदल यात्रामा निस्किएका बौद्ध भिक्षुहरुको आज निजगढ नगरपालिकामा स्वागत तथा बिदाइ गरिएको छ ।रौतहटको चन्द्रपुरबाट हिजोदेखि सुरु भएको ‘महान् धम्म यात्रा’ मा सहभागी भिक्षुहरुलाई निजगढ नगरपालिका कार्यालयमा नगर प्रमुख सुरत पुरी, उपप्रमुख सोममाया थिङ्ग, वडा नम्बर ५ का वडा अध्यक्ष सूर्यबहादुर थापालगायत जनप्रतिनिधि र कार्यालयका कर्मचारीहरुले कार्यालयमा फुल तथा खादा लगाएर स्वागत गरेपछि निजगढको तामागढीबाट बिदाइ गरेका हुन ।
नगर प्रमुख पुरी, उपप्रमुख थिङ्गलगायत जनप्रतिनिधि र कर्मचारीहरुले बौद्ध भिक्षुसंगै पैदलयात्रामा सहभागी भई नगर कार्यपालिकाको भवनको गेटदेखि तामागढीबाट बौद्ध भिक्षुहरुको बिदाई गरेका हुन ।भिक्षुहरुको टोली हिजो निजगढमा बास बसेको थियो । चन्द्रपुर नगरपालिका– १ स्थित गोल्माराजा बुद्ध बिहारबाट प्रारम्भ भएको सो यात्रामा २२ जना भिक्षुहरू सहभागी छन । ३ दिनअघि रौतहटको चन्द्रपुरस्थित गोल्माराजा बुद्ध बिहार आइपुगेको सो टोलीमा थाइल्याण्डसहित लाओस, भारत र नेपालका सहभागीसमेत गरी जम्मा २८ जनाको टोलीले ‘शान्तिको लागि धम्म यात्रा—भगवान् बुद्ध जन्मस्थल लुम्बिनीसम्म’ भन्ने मूल नारासहित पैदल यात्रा सुरु गरेको हो । थाइल्यान्डको वाट थम्पायल बिहारका प्रमुख भिक्षु आचान सुफित भन्तेको नेतृत्वमा सुरु भएको उक्त यात्राले विभिन्न स्थान हुँदै फाल्गुण १० गते लुम्बिनी पुग्ने कार्यक्रम रहेको छ ।
लुम्बिनी पुगेपछि पूजा–पाठ गरी सहभागीहरू आ–आफ्नो देश फर्कने बताइएको छ । गोल्माराजा बुद्ध बिहार, चन्द्रपुर– १ का भन्ते मेधकर स्थवीरका अनुसार शान्ति, सहअस्तित्व र करुणाको सन्देश प्रवाह गर्ने उद्देश्यले १५ दिनसम्म पैदल यात्रा सञ्चालन गरिनेछ ।


















